हुम्ला । जिल्लाकाे खार्पुनाथ गाउँपालिका पाँच स्थित शिवालय क्षेत्रमा निर्माण गरिएका पर्यटकीय पूर्वाधारको अन्तिम भुक्तानी करिब दुई वर्षदेखि रोकिएको छ । पर्यटन मन्त्रालय र गाउँपालिकाको लागत साझेदारीमा निर्माण सम्पन्न भए पनि मन्त्रालयबाट बजेट निकासा नहुँदा निर्माण कम्पनीले ठूलो रकम पाउन सकेको छैन । धर्म एस जयनगेछुप जेभीले निर्माण गरेको आयोजनाको सम्झौता २०७८ भदौ २२ गते भएको थियो ।
निर्माण कार्य २०८१ मंसिर ३० गते सम्पन्न भई पुस नाै गते जाँचपाससमेत भएको निर्माण कम्पनीका स्थानीय प्रतिनिधि कृष्ण हमालले बताए । आयोजनाको कुल लागत अनुमान चार करोड ९३ लाख ३८ हजार तिन सय सात रुपैयाँ रहेकामा अन्तिम मूल्याङ्कन चार करोड ९१ लाख ७२ हजार आठ सय १२ रुपैयाँ कायम भएको थियो । हालसम्म निर्माण कम्पनीले दुई करोड ३३ लाख ६७ हजार छ सय ६० रुपैयाँ मात्र भुक्तानी पाएको छ ।
गाउँपालिकाले आफ्नो साझेदारीको एक करोड ५० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने मन्त्रालयबाट ८३ लाख ६७ हजार छ सय ६० रुपैयाँ मात्र निकासा भएको जनाइएको छ । निर्माण कम्पनीका अनुसार अझै दुई करोड ५७ लाख ९२ हजार दुई सय १० रुपैयाँ भुक्तानी हुन बाँकी छ । लामो समयदेखि रकम नपाउँदा कामदारको पारिश्रमिकसमेत ऋण लिएर तिर्नुपरेको हमालले बताए ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले आयोजनाको प्राविधिक मूल्याङ्कन, सम्पन्न प्रतिवेदन तथा आवश्यक कागजात मन्त्रालयमा पठाइसकिएको जानकारी दिए । तर बजेट निकासा नहुँदा भुक्तानी गर्न समस्या भएको उनको भनाइ छ । आयोजना अन्तर्गत मन्दिर घेरबार, पदमार्ग, रेलिङ, प्रवेशद्वार, धर्मशाला, मसानघाट, ग्याबिन जाली, मेसिनरी वाल तथा शिव मन्दिरलगायतका संरचना निर्माण गरिएका छन्द । रकम निकासा गरी निर्माण कम्पनीको बाँकी भुक्तानी तत्काल गर्नुपर्ने माग गरिएको छ ।









