२०८३ भदौ ३ , बुधबार

कर्णालीमा विषादी परीक्षण प्रयोगशाला खुल्दै



सुर्खेत । लामो समयदेखि प्रयोगविहीन रहेका कर्णालीका दुई विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको छ । प्रदेश सरकारले आवश्यक जनशक्ति व्यवस्थापन गरेर सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा प्रयोगशाला सञ्चालन गर्न लागेको हो । कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायका अनुसार दुवै स्थानमा तीन–तीन जना कर्मचारी परिचालन गरिनेछ ।

प्रयोगशालाका लागि आवश्यक उपकरण तथा सामग्री पठाइसकिएको र जनशक्ति व्यवस्थापनको काम भइरहेको उनले बताए । हाल कर्णालीमा एकीकृत कृषि प्रयोगशालामार्फत बीउबिजन, माटो तथा बाली संरक्षणसम्बन्धी परीक्षण हुँदै आएको छ । तर विषादी परीक्षणका लागि छुट्टै जनशक्ति र संरचना आवश्यक भएकाले हर्रे र कपुरकोटमा स्थापना गरिएका प्रयोगशाला लामो समयदेखि सञ्चालन हुन सकेका थिएनन् ।

एकीकृत कृषि प्रयोगशालामा १८ जनाको स्वीकृत दरबन्दी रहेकामा १४ जना कर्मचारी कार्यरत छन् । कार्यरतमध्ये आठ जना प्राविधिक छन् । सीमित जनशक्तिले विभिन्न शाखाको जिम्मेवारी सम्हाल्नुपर्ने भएकाले नयाँ प्रयोगशाला सञ्चालनमा समस्या हुँदै आएको थियो । कर्णाली प्रदेश सरकारले प्रदेशलाई प्राङ्गारिक बनाउने लक्ष्यसहित वर्षौंदेखि विभिन्न नीति तथा कार्यक्रम अघि बढाउँदै आएको छ । कृषिजन्य उत्पादनमा विषादीको प्रयोग घटाउने र बाहिरबाट आउने विषादीयुक्त तरकारी तथा फलफूल नियन्त्रण गर्ने उद्देश्य राखिए पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।

प्रदेश सरकारले प्राङ्गारिक कृषि ऐनसहित विभिन्न नीति, मापदण्ड र निर्देशिका बनाएको छ । तर विषादी परीक्षणको प्रभावकारी व्यवस्था नहुँदा कृषि उत्पादनको गुणस्तर र प्राङ्गारिक अवस्थाबारे यकिन गर्न कठिनाइ हुँदै आएको थियो । यसैबीच, प्रदेश मन्त्रिपरिषद्ले ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरिसकेको छ । नयाँ प्रयोगशाला सञ्चालनमा आएपछि कृषि उपजको विषादी परीक्षण सहज हुने र उपभोक्तालाई सुरक्षित खाद्यवस्तु उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार