जाजरकोट । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी जाजरकोटको जुनीचाँदे गाउँपालिकामा दुई जना बेपत्ता भएका छन् । जुनीचाँदे गाउँपालिका छ डोग्रामा डोग्राखोला थुनिएर एक्कासि फुट्दा आएको बाढीमा परी स्थानीय ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार शुक्रबार बिहान करिब दुई बजे लगातार वर्षा भएपछि खोला थुनिएर पानी जम्मा भएको थियो । अचानक थुनिएको खोला फुट्दा पानीघट्ट सञ्चालनका लागि गएका सिंह सम्पर्कविहीन भएका थिए ।
घटनापछि उनकाे खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी, सोही वडाको छिर्का टोलकी करिब ३९ वर्षीया रचना थापा पनि सेती खोलाले बगाउँदा बेपत्ता भएका छन् । बुधबार साँझ करिब सात बजे गोठबाट घर फर्किने क्रममा थापालाई खोलाले बगाएको प्रहरीले जनाएको छ । थापा बेपत्ता भएको जानकारी बिहीबार बिहान करिब १० बजे प्राप्त भएपछि प्रहरी टोली खोजी तथा उद्धारका लागि घटनास्थलतर्फ पठाइएको थियो । तर, लगातारको वर्षा र खोलामा बढेको पानीका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
बाढीका कारण जुनीचाँदे छ क्षेत्रमा रहेका आठदेखि १० वटा पानीघट्टसमेत बगाएको बताइएको छ । बाढी तथा पहिरोबाट स्थानीय क्षेत्रमा थप क्षति भएको हुनसक्ने भन्दै प्रहरीले अवस्था बुझ्ने तथा क्षतिको विवरण संकलन गर्ने कामसमेत गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक बुद्धीसागर पुरीका अनुसार दुवै बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । लगातारको वर्षाका कारण जोखिम बढेकाले स्थानीयलाई खोला तथा पहिरो प्रभावित क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ ।








