२०८३ भदौ ७ , आइतबार

ब्रह्माकुमारीको रक्तदान अभियानमा १५५ पिन्ट रगत संकलन



सुर्खेत । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी अन्तर्राष्ट्रिय पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिको १९औँ पुण्य स्मृति तथा विश्व बन्धुत्व दिवसको अवसरमा आयोजित राष्ट्रियव्यापी ‘विश्व बन्धुत्व रक्तदान अभियान’अन्तर्गत बर्दिया, सुर्खेत र कैलालीमा गरी १५५ पिन्ट रगत संकलन भएको छ।


अभियानअन्तर्गत भाद्र ६ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित ब्रह्माकुमारीज शाखामा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्। केन्द्र प्रमुख ब्रह्माकुमारी विष्णुको अध्यक्षतामा भएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालको प्रमुख आतिथ्यता तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा रेडक्रस ब्लड बैंकका इन्चार्ज देपेन्द्र केसी, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव ब्रह्माकुमारी कृष्णबहादुर रानाभाट, स्वयंसेवी रक्तदाता समूह सुर्खेतका अध्यक्ष तथा कर्णाली प्रदेशका उत्कृष्ट रक्तदाता प्रवासकुमार शाक्यलगायत रक्तदाता र स्वयंसेवकहरूको सहभागिता थियो।

यसैगरी, बर्दियाको बाँसगढीमा आयोजित रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन भएको छ। ब्रह्माकुमारी पुष्पाको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख खडकबहादुर खड्का, उपप्रमुख इन्दिरा चौधरी, नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष तथा वरिष्ठ रक्तदाता प्रेम लम्साललगायतको सहभागिता थियो।

रक्तदान कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष दहवा थारु, उद्योगपति नरबहादुर ओली, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्री बराल, नेपाल रेडक्रस सोसाइटी बाँसगढी उपशाखाका अध्यक्ष नारायण शर्मा, महिला सञ्जालकी अध्यक्ष शिवा सापकोटालगायत विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी थिए। आरआर कोरियन भाषा इन्स्टिच्युटका विद्यार्थी, सिजी चाउचाउ फ्याक्ट्रीका कर्मचारी, व्यवसायी, शिक्षक, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले समेत रक्तदान गरेका थिए।

त्यस्तै, कैलालीको अत्तरियास्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखामा आयोजित ‘बृहत् रक्तदान जीवनदान शिविर–२०८३’ मा ३० पिन्ट रगत संकलन भएको छ। शिविरमा विभिन्न संघसंस्था, व्यवसायी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले रक्तदान मानव सेवाको महत्वपूर्ण कार्य भएको भन्दै आयोजक तथा रक्तदातालाई धन्यवाद दिएका थिए।
अत्तरियाको कार्यक्रममा ११४ पटक रक्तदान गरिसकेका दिपक उपाध्यायलाई विशेष सम्मान गरिएको थियो।

यसै अभियानअन्तर्गत भेरीगंगा नगरपालिका–१२, छिन्चु, सुर्खेतमा भाद्र ५ गते आयोजित रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको थियो। ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले दादी प्रकाशमणिको पुण्य स्मृति तथा विश्व बन्धुत्व दिवसको अवसर पारेर देशका विभिन्न स्थानमा रक्तदानलगायत मानव सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। अभियानमार्फत संकलित रगतले आवश्यकतामा रहेका बिरामीलाई उपचारका क्रममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार