२०८३ भदौ ७ , आइतबार

जुम्लामा युवा अभियानकर्मी सञ्जाल गठन



जुम्ला । सामाजिक हित र समुदायका साझा सवालमा युवालाई सक्रिय बनाउने उद्देश्यले जुम्लामा समुदाय युवा अभियानकर्मी सञ्जाल गठन गरिएको छ । किर्डाक नेपालले विभिन्न परियोजना सञ्चालन गरेका स्थानीय तहका युवा तथा किशोरीलाई सामाजिक अभियानमा जोड्ने उद्देश्यले सञ्जाल गठन गरेको हो । सञ्जालमा १६ वर्षदेखि २४ वर्षमुनिका बालबालिका तथा युवायुवतीलाई पदाधिकारी तथा सदस्यका रूपमा सहभागी गराउने व्यवस्था गरिएको छ ।

अध्यक्ष र उपाध्यक्ष पदमा धेरै आकांक्षी देखिएपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको थियो । निर्वाचनमा कनकासुन्दरी गाउँपालिका चारका विवेक शाही छ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी रमिता कामीले पाँच मत प्राप्त गरे । यस्तै, तिला गाउँपालिका चारकी सुस्मा हमाल आठ मतसहित उपाध्यक्षमा निर्वाचित भइन् भने उनकाे प्रतिस्पर्धी बिमला बडुवालले छ मत प्राप्त गरे ।

अध्यक्ष र उपाध्यक्षबाहेकका पदमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको निर्वाचन मण्डलका संयोजक भरत नेपालीले जानकारी दिए उनका अनुसार विवेक शाहीको अध्यक्षतामा १८ सदस्यीय समुदाय युवा अभियानकर्मी सञ्जाल गठन भएको हो । सञ्जालको सचिवमा आशा न्यौपाने, सहसचिवमा जुनमाया रोकाया र कोषाध्यक्षमा रविन्द्र वड चयन भएका छन् । अन्य सदस्यमा अनुधारा चौलागाईं, अन्तिमा महतारा, नविन भण्डारी, विपना शाही, सुष्मा चौलागाईं, बिमला बडुवाल, कुलराज जैसी, ब्रेमकली डाँगी, सर्मिला बुढा, गोर्कण मानव सुनार, रमिला कामी र दुर्गबहादुर रावत रहेका छन् ।

सञ्जाल उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं, जिल्ला समन्वय अधिकारी रोम महत तथा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईं लगायतले युवालाई समुदायमा बढ्दै गएका सामाजिक विकृति, कुरीति र विभेदविरुद्ध सचेतना फैलाउन सक्रिय भूमिका खेल्न आग्रह गरे ।  किर्डाक नेपाल र वल्र्ड भिजनको सहकार्यमा जुम्लामा लामो समयदेखि बालबालिका तथा युवाको विकासका क्षेत्रमा काम हुँदै आएको छ । नवगठित सञ्जालले बालअधिकारदेखि सामाजिक रूपान्तरणसम्मका विषयमा युवालाई एकताबद्ध गर्दै सार्वजनिक हितका सवालमा आवाज उठाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार