सल्यान । सल्यान र जाजरकोटको सीमावर्ती क्षेत्रमा पर्ने भेरी नदीमाथिको झोलुङ्गे पुल जीर्ण भएको चार वर्ष पुग्न लाग्दा पनि मर्मत तथा पुनर्निर्माण हुन सकेको छैन । २०७९ असोज १८ गते वर्षासँगै आएको पहिरोका कारण छेडागाड बजारनजिकैको पुल भासिएको थियो । त्यसयता स्थानीयले पटक–पटक पुल निर्माणको माग गर्दै आए पनि सम्बन्धित निकायबाट आवश्यक पहल हुन नसकेको गुनासो गरेका छन् ।
पुल जीर्ण भएपछि बन्गाड कुपिण्डे नगरपालिका दुई बाँमेका बाउनडाँडा, पारिल्ला, चैते र कुरिल्लेका स्थानीय जोखिम मोलेर भासिएको पुलबाटै वारपार गर्न बाध्य छन् । सुरक्षित वैकल्पिक बाटो नहुँदा दैनिक आवतजावतमा समस्या भएको स्थानीयको भनाइ छ । विशेषगरी बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्था तथा अस्पताल लैजान र बालबालिकालाई विद्यालय पठाउन समस्या हुने गरेको छ । वर्षायाममा भेरी नदीको पानीको बहाव बढ्दा पुल झनै जोखिमपूर्ण बन्ने गरेको छ ।
बालबालिकालाई विद्यालय पठाउँदा अभिभावक आफैँ पुलसम्म पुगेर छाड्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । भासिएको पुलमा एकैपटक धेरै मानिस हिँड्न सकिँदैन। थोरै मानिस वारपार गर्दा पनि पुल अत्यधिक हल्लिने भएकाले दुर्घटनाको जोखिम बढेको छ । यसका कारण बाँमेका चारवटै बस्तीका दर्जनौँ परिवार प्रभावित भएका छन् । स्थानीयका लागि भेरी नदीपारिको जाजरकोटस्थित छेडाबजार मुख्य व्यापारिक केन्द्र हो ।
दैनिक उपभोग्य सामग्री खरिद गर्न तथा गाउँमा उत्पादन भएका कृषि उपज बिक्री गर्न पनि स्थानीयले यही पुल प्रयोग गर्दै आएका छन् । पुलको अवस्था कमजोर भए पनि अन्य विकल्प नभएकाले जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय गोपीलाल आचार्यले बताए । स्थानीयले तत्काल पुलको प्राविधिक अध्ययन गरी मर्मत वा नयाँ पुल निर्माण गर्न माग गरेका छन् । लामो समयसम्म पुलको पुनर्निर्माण नहुँदा कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।









