बर्दिया । रोजगारीका लागि गोरखा पुगेका बर्दियाका ४० जना युवा कम्पनीसँगको विवादपछि अलपत्र परेको एक सातापछि सकुशल घर फर्किएका छन् । चिनियाँ कम्पनी नान्टोङमा कार्यरत कामदार र कम्पनीका प्रतिनिधिबीच विवाद भएपछि उनीहरू गोरखाको सहिद लखन गाउँपालिका चार ताकलुङमा तीन दिनसम्म अलपत्र परेका थिए ।
कामदारहरू अलपत्र परेको जानकारी पाएपछि बर्दियाका प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारूले प्रतिनिधिसभामार्फत सरकारको ध्यानाकर्षण गराउँदै उद्धार तथा घर फर्काउने व्यवस्था मिलाउन माग गरेका थिए । त्यसपछि गृह मन्त्रालयको निर्देशन तथा सम्बन्धित स्थानीय तहको पहलमा कम्पनी र कामदारबीच सहमति गराएर उनीहरूलाई स्थलमार्ग हुँदै बर्दिया पठाइएको हो ।
सहिद लखन गाउँपालिका चारका वडाध्यक्ष यमबहादुर थापाका अनुसार भदौ छ गते निर्माणाधीन सिन्जाली माध्यमिक विद्यालयको भवन निर्माणमा संलग्न नान्टोङ कम्पनीका सुपरभाइजर र कामदारबीच विवाद भएको थियो । विवादपछि कामदारहरूले काम छोड्नुपर्ने अवस्था आएपछि उनीहरू समस्यामा परेका थिए ।
खानासमेत नपाउने अवस्था सिर्जना भएपछि वडा कार्यालय, कम्पनी प्रतिनिधि र कामदारबीच छलफल गरी घर पठाउने सहमति गरिएको वडाध्यक्ष थापाले बताए । कम्पनीले प्रत्येक कामदारलाई गाडी भाडाका लागि आठ हजार रुपैयाँ पेस्की दिएको थियो । उक्त रकम कामदारले पाउने पारिश्रमिकबाट कटाएर बाँकी रकम भुक्तानी गर्ने सहमति भएको छ । त्यस्तै, चन्द्रप्रसाद चौधरी, अनुकल थारू, दिनेश चौधरी, निरेनधन थारू र अविनाश थारूलाई कम्पनीले दिनुपर्ने रकम भदौ २३ गतेसम्म बैंक खातामा जम्मा गर्ने सहमति भएको छ ।
घर फर्किएका अनुकल थारूले काम गर्ने क्रममा चिनियाँ कर्मचारीबाट आफूलाई हातपात भएको र उपचारका लागि समेत कम्पनीले सहयोग नगरेको आरोप लगाए । अलपत्र पर्दा सम्बन्धित निकायबाट तत्काल सहयोग नपाएको उनीहरूको गुनासो छ । बढैयाताल, गुलरिया र बारबर्दियाका ४० जना युवा अहिले सकुशल घर फर्किएका छन् ।









