धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले मुख्यमन्त्री खगराज भट्टसहित प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो एक महिनाको तलबसमेत बाढी प्रभावित नागरिकको सहयोगका लागि उपलब्ध गराउने निर्णय गरेको छ । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
प्रदेश सरकारको दुई करोड रुपैयाँ सहयोगसँगै मुख्यमन्त्री तथा मन्त्रीहरूको एक महिनाको तलबसमेत उपलब्ध हुने भएपछि रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका काममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









