२०८३ भदौ २८ , आइतबार

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु



सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिका–१०, झुप्रामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भदौ २७ गते बिहान लेकवेशीबाट भुतचोकतर्फ आउँदै गरेको भे ६ प ४७३ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी वीरेन्द्रनगर नगरपालिका–१०, बरीपाटी निवासी ५५ वर्षीया आशा बुढालाई ठक्कर दिएको थियो ।

मोटरसाइकल १७ वर्षीय मनोज आचार्यले चलाएका थिए। दुर्घटनामा गम्भीर घाइते बुढाको शरीरमा बाहिरी चोट नदेखिए पनि भित्री चोट लागेको र अवस्था अचेत रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बुढालाई उपचारका लागि सुरुमा माया नर्सिङ होम अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ पठाइएको थियो। प्रदेश अस्पतालले थप उपचार आवश्यक रहेको भन्दै नेपालगञ्जस्थित नरसिंह होम रिफर गरेको थियो ।

प्रहरीका अनुसार बुढाको भदौ २८ गते बिहान ७ः२० बजे नरसिंह होम नेपालगञ्जमा उपचारकै क्रममा मृत्यु भएको हो । उनको उपचारमा छोरा राजन बुढा संलग्न थिए। दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय लेकवेशीको नियन्त्रणमा रहेको छ भने चालक आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार