२०८३ कात्तिक ११ , बुधबार

उत्कृष्ट बलिङमा कर्णाली याक्सको विजयी सुरुआत, जनकपुर १९ रनले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

ब्याटिङमा सामान्य योगफल बनाएको कर्णालीले बलरहरूको प्रभावशाली प्रदर्शनका कारण १३३ रनको लक्ष्य रक्षा गर्न सफल भयो। जनकपुर १९.३ ओभरमा ११३ रनमा समेटिएपछि कर्णालीले जित आफ्नो पक्षमा पारेको हो। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीका युनिस सिंह ठकुरी र पाकिस्तानी खेलाडी हुसेन तलतले समान तीन–तीन विकेट लिए। उत्कृष्ट बलिङ गरेका युनिस खेलको प्लेयर अफ दी म्याच घोषित भए।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा युनिसले दबाबपूर्ण परिस्थितिमा पनि खेलमा फर्कन सक्ने गरी अभ्यास गर्दै आएकाले सफलता प्राप्त भएको बताए। उनले जनकपुरका महत्त्वपूर्ण ब्याटर हरमित सिंह, जिमी निसम र आदित्य मेहतालाई आउट गर्दै कर्णालीको जित सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे। हरमित सिंहलाई बलिङ गर्नुअघि कप्तान सोमपाल कामीले बाउन्ड्री जोगाउने रणनीतिअनुसार बलिङ गर्न सुझाव दिएको युनिसले जानकारी दिए। कप्तानको सल्लाहअनुसार स्टम्पको लाइनमा बलिङ गर्दा विकेट लिन सफल भएको उनको भनाइ थियो। आफ्नो टोलीमा रहेका सबै खेलाडीले जितको नायक बन्न सक्ने क्षमता राख्ने उल्लेख गर्दै युनिसले आफू कर्णाली प्रदेशकै खेलाडी भएकाले प्रदेशका अन्य खेलाडीले पनि उच्चस्तरको क्रिकेट खेल्न सक्ने विश्वास व्यक्त गरे।

कर्णालीले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याएको जनकपुरले अपेक्षाअनुसार ब्याटिङ गर्न सकेन। टोलीका ब्याटरहरू नियमित अन्तरालमा आउट हुँदा जितको लक्ष्य पूरा हुन सकेन। अभिशेष तिवारीले २० रन बनाउँदै जनकपुरका लागि सर्वाधिक रन जोडे। ओपनर तृतराज दास एक रनमै आउट भए भने मायन यादवले १३ रन बनाए। कप्तान सोमपाल कामीले तृतराजलाई क्याच गराउँदै कर्णालीलाई पहिलो सफलता दिलाए। त्यसपछि मायन रनआउट भए। इङ्लिस खेलाडी मोइन अलीले १९ रन जोड्दै इनिङ सम्हाल्ने प्रयास गरे पनि हुसेन तलतले उनको विकेट लिए। तलतले कुशल परेरालाई पनि ६ रनमा आउट गरेपछि जनकपुर थप दबाबमा परेको थियो।

त्यसपछि जिमी निसम र हरमित सिंहले छैटौँ विकेटका लागि ३८ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर युनिस सिंह ठकुरीले यो साझेदारी तोड्दै कर्णालीलाई महत्त्वपूर्ण सफलता दिलाए। युनिसले हरमितलाई १९ रनमा, जिमी निसमलाई १५ रनमा र आदित्य मेहतालाई शून्य रनमा आउट गरे। यी विकेटसँगै जनकपुरको जितको सम्भावना कमजोर बन्यो। ९४ रन पुग्दा जनकपुरले आठ विकेट गुमाइसकेको थियो। कर्णालीका लागि नन्दन यादवले दुई विकेट लिए भने कप्तान सोमपाल कामीले एक विकेट हात पारे। हुसेन तलतले चार ओभरमा २६ रन खर्चिए। युनिसले भने चार ओभरमा एक मेडन राख्दै २२ रन मात्र दिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। सुरुमै विकेट गुमाउँदा दबाबमा परेको कर्णालीलाई अरिफुल इस्लाम र पवन सर्राफले महत्त्वपूर्ण योगदान दिए। बंगलादेशी ब्याटर अरिफुलले २९ बलमा चार छक्का प्रहार गर्दै ४३ रन बनाए। उनको इनिङले कर्णालीलाई प्रतिस्पर्धात्मक योगफलतर्फ अघि बढाएको थियो। तर हरमित सिंहले राहुल यादवको सहयोगमा उनलाई स्लिपमा क्याच गराए।

हरमितले सोही ओभरमा अकबर अलीलाई पनि एक रनमा एलबिडब्लु आउट गरेपछि कर्णालीको ब्याटिङ थप दबाबमा परेको थियो। पवन सर्राफले ३७ बलमा तीन छक्कासहित ३७ रन बनाए। अरिफुल र पवनको योगदानका बाबजुद अन्य ब्याटरले पर्याप्त रन बनाउन नसक्दा कर्णाली १३२ रनमै सीमित भयो। जनकपुरका लागि हरमित सिंहले तीन विकेट लिए। राहुल यादव र मोइन अलीले समान दुई विकेट हात पारे भने ललित राजवंशीले एक विकेट लिए। युवा बलर राहुलले आफ्नो चार ओभरमा १५ रन मात्र खर्चिएर किफायती बलिङ गरे।

जनकपुर बोल्ट्सका कप्तान हरमित सिंहले पहिलो खेलमा पराजित भए पनि टोली निराश नभएको बताएका छन्। टोलीमा क्षमतावान् खेलाडी रहेकाले आगामी खेलमा कमजोरी सुधार गर्दै पुनरागमन गर्ने विश्वास उनले व्यक्त गरे। हरमितले १७ वर्षीय बलर राहुल यादवको बलिङ गति र क्षमताको प्रशंसा गर्दै उनको भविष्य उज्ज्वल रहेको बताए। जितको नजिक पुगेर पनि सानो गल्तीका कारण खेल गुमाउनुपरेको उनको भनाइ थियो।

आफू वा जिमी निसममध्ये एक खेलाडी अन्तिमसम्म क्रिजमा टिकेर टोलीलाई जित दिलाउने योजनामा रहे पनि त्यो रणनीति सफल हुन नसकेको हरमितले बताए। एनपीएलअन्तर्गत बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। पोखराले प्रतियोगितामा पहिलो खेल खेल्दैछ भने सुदूरपश्चिम दोस्रो खेलका लागि मैदानमा उत्रनेछ। सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजय बेहोरेको थियो।

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते बुधबार