काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौँमा सुरु भएको छ।
बुधबारदेखि सुरु भएको बैठक कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ। बैठकमा सहभागी हुन भारतीय सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघल प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौँ आएका छन्। नेपाली पक्षको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन्। नेपाल–भारत सीमामा हुने अपराध नियन्त्रण, सीमा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा दुवै देशका सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।
बैठकमा नेपालका तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र नापी विभागका प्रतिनिधिहरू सहभागी छन्। भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास तथा सशस्त्र सीमा बलका उच्च अधिकारीहरूको सहभागिता रहेको छ। बैठकमा सीमापार हुने अवैध गतिविधि नियन्त्रण, मानव बेचबिखन तथा लागूऔषध ओसारपसार नियन्त्रण र अवैध हातहतियारको कारोबार रोकथामका लागि भइरहेका प्रयासको समीक्षा गरिनेछ। साथै, सीमा व्यवस्थापन संयन्त्रको मार्गदर्शनअनुसार दशगजामा हुने अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माणका विषयमा पनि छलफल हुनेछ।
सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै स्थानीय नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने र दुवै देशका सुरक्षा निकायबीच सहकार्य विस्तार गर्ने विषयलाई पनि बैठकले प्राथमिकतामा राखेको छ। त्यसैगरी, नेपाल–भारतको खुला सिमाना प्रयोग गरी तेस्रो मुलुकका नागरिकबाट हुन सक्ने अवैध आवागमन नियन्त्रण गर्ने तथा सीमा व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र आधुनिक बनाउन उपयुक्त प्रविधिको प्रयोग गर्ने विषयमा समेत छलफल हुने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।








