२०८३ भदौ २८ , आइतबार

७० करोडभन्दा बढीको स्याउ बिक्री हुने अनुमान



जुम्ला । जिल्लामा उत्पादित अर्गानिक स्याउ धमाधम देशका प्रमुख सहरमा पुग्न थालेपछि किसान र व्यापारी उत्साहित भएका छन् । बगैँचामै व्यापारी पुगेर स्याउ खरिद गर्न थालेपछि किसानलाई बजारीकरणमा समेत सहज भएको छ । भदौको तेस्रो सातासम्म जुम्लाबाट सुर्खेत, नेपालगन्ज र काठमाडौँ लगायतका सहरमा ठूलो परिमाणमा स्याउ पठाइएको छ । कर्णाली राजमार्गमा चल्ने अधिकांश मालवाहक गाडी अहिले स्याउ ढुवानीमा प्रयोग भइरहेका छन् ।

कतिपय किसान आफैँ सहर पुगेर बिक्री गरिरहेका छन् भने अधिकांशले व्यापारीमार्फत स्याउ बिक्री गरेका छन् । चन्दननाथ नगरपालिका आठका किसान धर्मसिंह कठायतले यस वर्ष आफ्नो बारीमा उत्पादन भएको करिब नौ लाख रुपियाँको स्याउ सुर्खेतमा बिक्री गरेका छना् । उनका अनुसार गत वर्षको तुलनामा उत्पादन राम्रो हुनुका साथै समयमै बजार पाउँदा किसानलाई राहत भएको छ । सोही वडाका किसान धनराशि भण्डारीले पनि करिब दुई गाडी स्याउ सुर्खेत र नेपालगन्ज पठाइसकेकाे छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जुम्लामा स्याउको उत्पादन र बजार दुवै उत्साहजनक देखिएको छ । कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार भदौ २५ गतेसम्म ३५ करोड रुपियाँभन्दा बढीको स्याउ बिक्री भइसकेको अनुमान छ । हालसम्म करिब ५० प्रतिशत स्याउ सङ्कलन भइसकेको र यस वर्ष ७० करोड रुपियाँभन्दा बढीको स्याउ बिक्री हुने अनुमान गरिएको छ । यस वर्ष बगैँचामै स्याउको मूल्य प्रतिकेजी ८० देखि ९० रुपियाँसम्म पुगेको छ, जुन गत वर्षको तुलनामा करिब २० रुपियाँ बढी हो ।

जुम्लामा यस वर्ष १९ हजार पाँच सय मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन हुने लक्ष्य राखिएको छ । यसैबीच चन्दननाथ बहुद्देश्यीय सहकारीले तीन लाख केजी स्याउ काठमाडौँ पुर्‍याएर बिक्री गरिरहेको छ । सहकारीले स्याउको ब्रान्डिङ र बजार विस्तारका लागि बिक्री अभियान सञ्चालन गरेको जनाएको छ । काठमाडौँ पुगेका जुम्लाका छ वटा गाडीका स्याउ सम्झौतामार्फत बिक्री भइसकेका छन् । यसले जुम्लाको स्याउले राष्ट्रिय बजारमा थप बलियो पहिचान बनाउँदै गएको देखाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार