२०८३ भदौ २८ , आइतबार

अनुदानको आशमा खुलेका सुर्खेतका सयौँ उद्योग बन्द



सुर्खेत । सरकारी तथा गैरसरकारी निकायबाट पाइने अनुदानलाई मुख्य उद्देश्य बनाएर स्थापना गरिएका सुर्खेतका धेरै उद्योग सञ्चालनमा आउन नसकेपछि खारेज भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतका अनुसार खारेज हुने उद्योगमध्ये कृषि क्षेत्रमा आधारित उद्योगको सङ्ख्या उल्लेख्य छ । आर्थिक वर्ष २०८२र८३ मा सुर्खेतमा तिन सय तीन वटा उद्योग खारेज भएका छन् । तीमध्ये दुई सय ५४ वटा उद्योग र ४९ वटा वाणिज्य फर्म रहेका छन् ।

कार्यालय प्रमुख मुकुन्दनाथ योगीका अनुसार अनुदान प्राप्त गर्ने उद्देश्यले उद्योग दर्ता गर्ने, एक पटक सहयोग पाएपछि व्यवसाय निरन्तरता नदिने प्रवृत्तिका कारण धेरै उद्योग खारेजीमा परेका हुन् । यद्यपि सोही आर्थिक वर्षमा सुर्खेतमा नाै सय सात वटा नयाँ उद्योग दर्ता भएका छन् । उद्योगतर्फ पाँच सय ४३ र वाणिज्यतर्फ तीन सय ६४ वटा दर्ता भएका हुन् ।

कार्यालयका अनुसार यही अवधिमा एक हजार चार सय ५२ उद्योग नवीकरण भएका छन् भने ६ सय ६० उद्योगको विवरण संशोधन गरिएको छ । पछिल्ला तीन आर्थिक वर्षमा सुर्खेतमा आठ सय ६४ उद्योग खारेज भएका छन् । आव २०८० र ८१ मा २४६, २०८१ र ८२ मा तीन सय १५ र २०८२ र ८३ मा तीन सय तीन उद्योग खारेज भएका हुन् । यस अवधिमा भने दुई हजार आठ सय दुई नयाँ उद्योग दर्ता भएका छन् ।एक हजार सात सय ५१ जनाले पाए रोजगारी गत आवमा दर्ता भएका उद्योगबाट एक हजार सात सय ५१ जनाले रोजगारी पाएका छन् ।

रोजगारी पाउनेमा नाै सय ९५ पुरुष र सात सय ५६ महिला छन् । नयाँ दर्ता भएका उद्योगमध्ये सेवामूलक व्यवसायको सङ्ख्या बढी रहेको कार्यालयले जनाएको छ । त्यसपछि पर्यटन, कृषि तथा वनपैदावार, उत्पादनमूलक र ऊर्जामूलक उद्योग रहेका छन् । औद्योगिक ग्राम तथा कोसेलीगृह सञ्चालक समितिका अध्यक्ष सुमननाथ योगीले क्षणिक लाभका लागि खोलिएका उद्योग बन्द हुँदा वास्तविक उद्यमीसमेत प्रभावित भएको बताए । अनुदानमा आधारित उद्योगको प्रभावकारिता र निरन्तरताबारे समयमै अध्ययन तथा अनुगमन आवश्यक रहेको उनकाे भनाइ छ

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार