२०८३ असोज ३ , शनिबार
२६औँ वार्षिकोत्सव विशेष

फेरिँदैछ गिडी दहको परिचय



चार वर्षअघिसम्म जुम्लाको तातोपानी गाउँपालिका–४ को ‘गिडी दह’ धेरैका लागि अपरिचित थियो । घना जंगल, पाटन र पहाडले घेरिएको करिब ३ हजार ४८५ मिटर उचाइमा रहेको दह स्थानीयका लागि भने नौलो थिएन । शिकार खेल्ने, घोडा तथा भेडा चराउनेहरु त्यहाँ पुग्थे । तर पर्यटनको दृष्टिले राज्य वा अन्य निकायको औपचारिक उपस्थिति त्यहाँ थिएन ।

२०७९ साल असोजमा त्यो अवस्था पहिलोपटक बदलियो । तातोपानी गाउँपालिकाको पहलमा असोज ४ देखि ६ गतेसम्म गिडी दहमै पहिलोपटक सम्मेलन आयोजना भयो । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, प्रदेश र संघ सरकारका प्रतिनिधि, विकास साझेदार संस्था तथा पत्रकारसहितको टोली गिडी दह पुगेको थियो । त्यसअघि सरकारी टोलीसमेत त्यहाँ पुगेको इतिहास थिएन । दहको क्षेत्रफल र गहिराइसमेत नापिएको थिएन । सडक र व्यवस्थित पदमार्ग थिएनन् । पर्यटकका लागि बस्ने तथा खाने पूर्वाधार पनि थिएन ।

तातोपानी–४ का वडाध्यक्ष अमर रोकायाका अनुसार त्यही अवस्थालाई बदल्ने उद्देश्यले स्थानीय सरकारले गिडी दहलाई पर्यटनको प्राथमिकतामा राख्ने निर्णय ग¥यो । “पहिलोपटक गिडी दहमा सम्मेलन गरेर यसको सम्भावना बाहिर ल्याउने काम ग¥यौं,” तातोपानी गाउँपालिकाका प्रवक्ता समेत रहेका रोकाया भन्छन्, “त्यसपछि पूर्वाधार निर्माण, प्रचारप्रसार र अध्ययनलाई सँगसँगै अगाडि बढायौं ।” पहिलो गिडी दह सम्मेलनबाट गिडीदहमा पूर्वाधार निर्माण, प्रचारप्रसार, बजेट व्यवस्थापन र संरक्षणलगायत विषय समेटिएको १४ बुँदे घोषणापत्र जारी गरिएको थियो ।

सम्मेलनपछि गिडीदहलाई गाउँपालिका र वडाको मात्र विषय बनाएर सीमित नराखी संघ तथा प्रदेश सरकारसँग समेत पूर्वाधार निर्माणका लागि बजेट माग गर्न थालिएको वडाध्यक्ष रोकाया बताउँछन् । त्यसपछि पदमार्ग र सडक निर्माणको प्रक्रिया अघि बढेको उनले बताए । रोकायाका अनुसार २०८० सालबाट पदमार्ग निर्माण सुरु भएको हो ।

अहिले गिडीदह पुग्ने दुईवटा पदमार्ग निर्माण गरिएको छ । वडाध्यक्ष रोकायाका अनुसार वडा नम्बर ४ को कार्यालय हाँकुदेखि फुलचौंले पाटनसम्म १६ किलोमिटर पदमार्ग बनेको छ । यस्तै २९ किलोमिटर अर्को पदमार्ग निर्माण गरिएको छ । गिडी दह जाने बाटोमा एउटा झोलुङ्गे पुल पनि बनाईएको छ । संघीय सरकारको अनुदानबाट पदमार्ग निर्माण गरिएको उनले जानकारी दिए । सँगसँगै बाटोमा सूचना तथा प्रचारप्रसारका लागि होडिङ बोर्डसमेत राखिएका छन् ।

तालछेउमै धर्मशाला

तातोपानी गाउँपालिकाका प्रवक्ता रोकायाका अनुसार हाल गिडी दह जाने पर्यटकका लागि दुई वटा धर्मशाला निर्माण गरिएको छ । ती धर्मशालामा खाना र बस्नको व्यवस्था गरिएको छ । हाल तालको छेउमै करिब ४० जना बस्न मिल्ने धर्मशाला निर्माण गरिएको छ । खानेपानी र शौचालयको व्यवस्था उक्त धर्मशालामा गरिएको छ । व्यवस्थित ब्याडमिन्टन कोर्टसमेत निर्माण भएको रोकायाले बताए । गिडीखोला हुँदै गिडीदह जाने बाटोमा पर्ने फुलचौंले पाटनमा पनि धर्मशाला निर्माण गरिएको उनले बताए ।

“धर्मशालामा व्यवस्थित शौचालय, खानेपानीको व्यवस्था छ, विभिन्न निकायसँग सहकार्य गरेपछि हामीलाई धर्मशाला निर्माणमा सहज भएको हो । यसले पर्यटकलाई यसअघि हुने असुविधाबाट मुक्ति दिएको छ,” उनले भने, “अहिले गिडी दहको पर्यटन विकासका लागि हामी दोस्रो कार्यकालका जनप्रतिनिधि आइसकेपछि थुप्रै काम गरेका छौं, संघ र प्रदेश सरकार सँगसँगै विकास साझेदार निकायको पनि सहयोग लिईरहेका छौं ।”

‘गुमनाम’ दहको पहिलोपटक वैज्ञानिक नापजाँच

गिडी दहको पर्यटन प्रवद्र्धन अभियानमा अर्को महत्वपूर्ण काम यसको वैज्ञानिक अध्ययन हो । चार वर्षअघि गिडीदहको लम्बाइ, चौडाइ र गहिराइसमेत यकिन थिएन । अहिले भने काठमाडौं विश्वविद्यालयका विज्ञमार्फत गिडी दहको बाथिमेट्रिक सर्भे गरिएको वडाध्यक्ष रोकाया बताउँछन् ।

उक्त अध्ययनअनुसार गिडीदहको लम्बाइ १ हजार ५१० मिटर, चौडाइ ३१० मिटर र अधिकतम गहिराइ ४२.८ मिटर रहेको छ । उक्त बाथिमेट्रिक अध्ययनका लागि राष्ट्रिय ताल संरक्षण समिति र गाउँपालिकाबाट बजेट व्यवस्थापन गरिएको थियो ।

प्रवक्ता रोकायाका अनुसार बाथिमेट्रिक अध्ययनले गिडी दहलाई नेपालका गहिरा तालमध्ये एकका रुपमा चिनाउने आधारसमेत दिएको छ । अहिलेसम्म अध्ययन भएको तालहरुमध्ये गिडी तह छैटौं गहिरो तालका रुपमा छ । सबैभन्दा गहिरो ताल रारा (१६७ मिटर), शे–फोक्सुण्डो (१४५ मिटर), तिलिचो (८५ मिटर), गोक्यो (६२.४ मिटर), छो रोल्पा हिमताल (६० मिटर) गहिराई भएका छन् । त्यसपछिको गिडी तह (४२.८ मिटर) रहेको पछिल्लो बाथिमेट्रिक सर्भे रिपोर्टले देखाएको छ ।

“कर्णालीमा बाथिमेट्रिक सर्भे रिपोर्ट तयार गरिएका यसअघि दुई वटा मात्र ताल मुगुको रारा र डोल्पाको से–फोक्सुण्डो मात्र थिए, अहिले गिडी दहको पनि नापजाँच गरेपछि यो तेस्रो भयो,” उनले भने, “यसपछि कर्णालीका गहिरा तालमध्येमा यो पनि भएको देखियो ।”

गिडी दह जलवायु सम्मेलन

२०७९ को सम्मेलनपछि गिडी दहमा अर्को ठूलो कार्यक्रमका रुपमा २०८३ जेठ २९ देखि ३१ गतेसम्म जलवायु सम्मेलन गरिएको थियो । पहिलो सम्मेलनले गिडीदहलाई पर्यटनको बहसमा ल्याएको थियो भने दोस्रो सम्मेलनले यसलाई पर्यापर्यटन र जलवायु परिवर्तनको बहससँग जोडेको छ ।

प्रवक्ता रोकायाका अनुसार जलवायु सम्मेलनमा करिब ६ सय जनाको सहभागिता थियो । सहभागीहरुलाई गिडीदहमै खाने र बस्ने व्यवस्था गरिएको थियो । सम्मेलनका लागि गाउँपालिकाले चार लाख रुपैयाँ र अन्य वडा तथा गैरसरकारी संस्थाबाट समेत स्रोत व्यवस्थापन गरिएको उनले बताए ।

सम्मेलनले गिडीदहलाई दीगो पर्यटकीय पूर्वाधारका रुपमा विकास गर्ने प्रतिबद्धतासहित घोषणापत्र जारी गरेको थियो । उच्च हिमाली क्षेत्रमा रहेको ताल, त्यसको जलाधार, जैविक विविधता र जलवायु परिवर्तनका प्रभावलाई समेत जोडेर हेर्नुपर्ने निश्कर्ष ‘गिडी दह जलवायु सम्मेलन’ बाट निकालिएको थियो ।

जलवायु सम्मेलनपछि गिडी दहलाई पर्यटकी गन्तव्यका रुपमा मात्र नहेरी त्यसबाट बग्ने पानीलाई बहुउपयोग गर्ने योजना पनि अघि बढेको छ । तालबाट बग्ने खोलामा विद्युत् उत्पादनका लागि सम्भाव्यता अध्ययन भईरहेको रोकायाले बताए । एउटा कम्पनीले करिब दुई वर्षदेखि डीपीआरको काम गरिरहेको उनले बताए । कम्पनीको प्रारम्भिक अनुमानअनुसार त्यहाँबाट करिब ६० मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेको छ ।

गिडी दहलाई सहज पहुँचमा जोड्न सडक निर्माणको योजना पनि अघि बढेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । गिडी दहसम्म पुग्ने करिब १० किलोमिटर सडकको डीपीआर तयार भइसकेको उनले जानकारी दिए । वातावरणीय प्रभाव मूल्यांकनसमेत गरिएको उनले बताए ।

२०७९ मा गिडीदहको मुख्य समस्या नै पर्यटक नपुग्नु थियो । अहिले अवस्था केही बदलिएको छ । २०८० र २०८१ गरी दुई बर्षमा २१३ जना पर्यटक गिडी दह पुगेको तथ्याङ्क छ । २०८२ मा गाउँपालिकाले गिडीदह भ्रमण वर्ष घोषणा गर्दै पर्यटक संख्या बढाउने लक्ष्यसमेत राखेको थियो ।

अहिले पनि पनि गिडी दहमा स्वदेशी पर्यटक फाट्टफुट्ट पुगिरहेका छन् । बेलाबखत विदेशी पर्यटकसमेत पुग्ने गरेको तातोपानी गाउँपालिकाका प्रवक्ता रोकायाले बताए । “पर्यटक नआउने नै होइन, २०७९ सालअघि भन्दा त आउनुहुन्छ । तर पर्यटकको चाप भने बढ्न सकेको छैन ।” उनले भने ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार