समय बदलिन्छ, परिस्थिति बदलिन्छ, शासनका स्वरूप र प्राथमिकता बदलिन्छन् । प्रविधिले सञ्चारका माध्यम पनि बदलिदिएको छ, सूचना प्राप्त गर्ने नागरिकको तरिका बदलिएको छ र समाजका अपेक्षाहरू पनि दिनप्रतिदिन फराकिलो हुँदै गएका छन् । तर सत्यको खोजी, नागरिकको आवाज र सार्वजनिक उत्तरदायित्वप्रतिको आवश्यकता भने बदलिएको छैन । यही आवश्यकताको जगमा पत्रकारिता उभिएको छ । र यही जिम्मेवारीलाई आत्मसात् गर्दै कर्णाली प्रदेशको पहिलो दैनिक पत्रिका तथा काँक्रेविहार राष्ट्रिय दैनिकले आफ्नो यात्रालाई अघि बढाइरहेको छ । आ.व २०५७/०५८ देखि सञ्चालनमा आएको यो पत्रिका कर्णाली प्रदेशसँगै देशभर सर्वाधिक बिक्रि हुने र खोजिने पत्रिका पनि हो । तर पत्रकारिता हाम्रो लागि समाचार छाप्ने कर्म मात्रै होइन, यो समाजको ऐना हो, प्रश्न गर्ने माध्यम हो, आवाजविहीनको आवाज हो, भने सार्वजनिक जीवनमा जवाफदेहिताको निरन्तर खोजी पनि हो । समाचारले घटना बताउँछ, तर हामीले पत्रकारितामार्फत निरन्तर घटनाको कारण सहित खबरदारी गर्दै आएका छौं । सूचना दिनु पत्रकारिताको आधारभूत दायित्व हो ।

त्यसको प्रभाव, त्यसले जन्माएको प्रश्न र त्यसबाट नागरिकले पाउनुपर्ने जवाफ खोज्नु पत्रकारिताको गहिरो जिम्मेवारी हो । त्यसैले खबरदारी हाम्रो पत्रकारिताको मूल स्वभाव हो । खबरदारी भन्नाले हरेक विषयमा विरोध गर्नु होइन । कसैलाई दोषी ठहर गर्नु पनि होइन । खबरदारी भनेको अधिकार प्राप्त व्यक्तिलाई उसको दायित्व सम्झाउनु हो । सार्वजनिक स्रोतको प्रयोग कहाँ भइरहेको छ ? भनेर प्रश्न गर्नु हो ।
राज्यले नागरिकलाई दिएका वाचा र व्यवहारबीचको दूरी देखाउनु हो । विकासका योजनाको कागज र त्यसको वास्तविक अवस्थाबीचको अन्तर उजागर गर्नु हो । नागरिकले सेवा पाउन किन सास्ती भोग्नुपर्छ ? भनेर सोध्नु हो । र, राम्रो काम भएको छ भने त्यसको उदाहरण समाजसामु प्रस्तुत गर्नु पनि खबरदारीकै अर्को सकारात्मक पक्ष हो ।
लोकतन्त्र निर्वाचनको दिनमा मात्र जीवित हुँदैन । लोकतन्त्र त नागरिकले हरेक दिन प्रश्न गर्न पाउने वातावरणमा जीवित रहन्छ । हामीले सरकार र सार्वजनिक निकाय जनताप्रति उत्तरदायी छन् कि छैनन् ? नीति र निर्णयले नागरिकको जीवनमा कस्तो प्रभाव पारिरहेका छन् ? सार्वजनिक धनको सदुपयोग भइरहेको छ कि छैन ? शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सेवा प्रवाहमा नागरिकले अपेक्षित परिणाम पाइरहेका छन् कि छैनन् ? यस्ता प्रश्नहरू निरन्तर उठाइरहेका छौं । जहाँ प्रश्न गर्न छोडिन्छ, त्यहाँ जवाफदेहिता कमजोर हुन थाल्छ । जहाँ जवाफदेहिता कमजोर हुन्छ, त्यहाँ बेथिति मौलाउने सम्भावना बढ्छ । र जहाँ बेथितिमाथि प्रश्न गर्ने संस्कार कमजोर हुन्छ, त्यहाँ नागरिकको विश्वास पनि कमजोर हुँदै जान्छ ।
त्यसैले काँक्रेविहार राष्ट्रिय दैनिकको खबरदारी कुनै क्षणिक अभियान होइन । यो निरन्तर पत्रकारिताको अभ्यास हो । हामीले हाम्रो वरिपरि हेर्दा विकासका अनेक सम्भावना देखिन्छन् । सडक बनेका छन्, पुल बनेका छन्, विद्यालय र स्वास्थ्य संस्थाका संरचना विस्तार भएका छन्, स्थानीय तहहरू नागरिकको नजिक पुगेका छन् । तर संरचना निर्माण हुँदैमा विकास पूरा हुँदैन ।
त्यसको गुणस्तर कस्तो छ ? त्यसको उपयोगिता कति छ ? बजेटको सदुपयोग भएको छ कि छैन ? नागरिकले त्यसको लाभ पाएका छन् कि छैनन् ? योजनाहरू आवश्यकतामा आधारित छन् कि पहुँच र प्रभावका आधारमा ? यस्ता प्रश्न पनि विकासकै अभिन्न हिस्सा हुन् भन्ने कुरालाई मनन् गर्दै हाम्रो खबरदारी यात्रा निरन्तर जारी छ । त्यसैले हाम्रो पत्रकारिता ‘कति बजेट खर्च भयो ?’ भन्ने प्रश्नसँगै ‘त्यो खर्चले नागरिकको जीवनमा के परिवर्तन ल्यायो ?’ भन्नेमा केन्द्रित छ । यिनै प्रश्नको खोजी पत्रकारिताको वास्तविक अर्थ पनि हो ।
पछिल्लो समय सूचना उत्पादनको गति अत्यन्त तीव्र छ । एउटा मोबाइलबाट केही सेकेन्डमै सूचना हजारौँ मानिससम्म पुग्छ । सामाजिक सञ्जालले नागरिकलाई अभिव्यक्तिको ठूलो अवसर दिएको छ । तर सूचनाको यो विस्फोटसँगै गलत सूचना, आधा सत्य, भ्रम र अपुष्ट दाबीको जोखिम पनि बढेको छ । यस्तो समयमा सञ्चारमाध्यमको भूमिका झन् महत्वपूर्ण हुन्छ । हामीलाई छिटोभन्दा पहिले सही हुनुपर्ने चुनौती छ । लोकप्रियभन्दा पहिले विश्वसनीय हुनुपर्ने चुनौती छ ।
सनसनीभन्दा पहिले सत्य रोज्नुपर्ने चुनौती छ । काँक्रेविहार राष्ट्रिय दैनिकले यही जिम्मेवारीलाई आत्मसात् गरेको छ । हाम्रो आगामी यात्रा चुनौतीविहीन छैन । आर्थिक दबाब, डिजिटल प्रतिस्पर्धा, सूचनाको तीव्र गति, सामाजिक सञ्जालको प्रभाव र पत्रकारितामाथि बढ्दै गएको विभिन्न प्रकारको दबाबबीच विश्वसनीय पत्रकारिता कायम राख्नु सजिलो काम होइन । तर कठिनाइले जिम्मेवारी घटाउँदैन; बरु बढाउँछ । हामीलाई थाहा छ, खबरदारी गर्दा प्रश्न उठ्छन् ।
कहिलेकाहीँ असन्तुष्टि उत्पन्न हुन सक्छ । तर सार्वजनिक हितमा उठाइएका तथ्यमा आधारित प्रश्नलाई व्यक्तिगत असहमतिको आधारमा दबाउन सकिँदैन । पत्रकारिताको मूल्य नै त्यतिबेला देखिन्छ, जतिबेला प्रश्न गर्न सहज हुँदैन । त्यसैले काँक्रेविहार दैनिक आफ्नो यात्राको आगामी चरणमा अझ तथ्यपरक, अझ जिम्मेवार र अझ नागरिकमुखी पत्रकारिताको अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । त्यसैले हाम्रो खबरदारी कुनै एउटा अंकमा सीमित रहने छैन ।
अंक फेरिन्छन्, समाचार फेरिन्छन्, समय फेरिन्छ, तर नागरिकप्रतिको हाम्रो जिम्मेवारी फेरिने छैन । सत्यको खोजीमा, नागरिकको आवाजसँगै र सार्वजनिक उत्तरदायित्वको पक्षमा यो खबरदारीको निरन्तरता जारी रहनेछ । यो यात्रामा समन्वय र सहकार्यका लागि सम्पूूर्ण पाठकवर्ग, विज्ञापनदाता तथा सबै सरकारी गैर सरकारी निकायलाई धन्यबाद !
- प्रकाशक
- काँक्रेविहार प्रकाशन प्रा.लि.








