कर्णाली भन्ने वित्तिकै धेरैको मनमा विकट भूगोल, अभाव र गरिबीको चित्र आउँछ । तर, यही भूगोलभित्र प्रकृति, इतिहास, धर्म, संस्कृति र सभ्यताको अथाह सम्पदा लुकेको छ । हिमालदेखि पहाडसम्म फैलिएको कर्णाली प्राकृतिक सौन्दर्यले मात्र होइन, हजारौं वर्ष पुरानो इतिहास र मौलिक संस्कृतिले पनि समृद्ध छ । भेरी र कर्णाली नदी तथा तिनका सहायक नदीले सिँचाइ र जलविद्युतको सम्भावना बोकेको यो प्रदेश धार्मिक र सांस्कृतिक सम्पदामा पनि उत्तिकै धनी छ । मानसरोवर हुँदै मध्य एसियासम्म जोडिने प्राचीन कर्णाली शिल्क रोडदेखि नेपाली भाषाको उदगमस्थल मानिने सिंजासम्मको इतिहास कर्णालीसँग जोडिएको छ । यहाँका मन्दिर, विहार, पत्थरनाउली, ज्वाला क्षेत्र, पञ्चकोशी, ऐतिहासिक गुम्बा, कीर्तिखम्ब, पञ्चदेवल, सिंजा र दुल्लूले कर्णालीको सभ्यता र इतिहास बताइरहेका छन् ।

प्राकृतिक सौन्दर्यको कुरा गर्दा रारा, शे–फोक्सुन्डो, पचाल झरना, कुपिन्डे दह र लिमी उपत्यकाजस्ता गन्तव्यले पर्यटकलाई आकर्षित गर्छन् । कर्णालीमा धर्तीमै ‘स्वर्ग’ देख्न पाइन्छ । ‘स्वर्गकी अप्सरा’ उपनामले चिनिने देशकै ठूलो रारा तालदेखि भगवान शिवको बासस्थान कैलाश मानसरोवरको दर्शनसम्म यहाँबाट गर्न सकिन्छ । जीवनमा एकपटक कैलाश मानसरोवरको दर्शन गरे सबै प्रकारका पापबाट मुक्त भई मृत्युपश्चात स्वर्ग पुगिने धार्मिक विश्वासका कारण नेपाल, भारत तथा तेस्रो मुलुकबाट बर्षेनि हजारौं तीर्थयात्री यहाँ पुग्ने गर्छन् ।
नेपाल एकीकरणपूर्व कर्णालीको शीतकालीन राज्य जुम्ला र यसको प्रशासनिक केन्द्र दैलेखको दुल्लु रहेको इतिहास पाईन्छ । दैलेखको पञ्चकोशी क्षेत्रमा शिरस्थान र नाभिस्थानमा सदियौंदेखि पानीमाथि आगोको ज्वाला निरन्तर बलिरहेको छ ।
दुल्लु दरबारको भग्नावशेष, पटाङ्गिनी, कीर्तिखम्ब र ऐतिहासिक शिलालेखले यस क्षेत्रको ऐतिहासिक महत्व झल्काउँछन् । सुर्खेतको काँक्रेबिहार, देउतीबज्यै र बुलबुलेदेखि कालीकोटको पचाल झरना, जुम्लाको सिंजा, मुगुको रारा, डोल्पाको शे–फोक्सुन्डो, हुम्लाको लिमी उपत्यका, सल्यानको कुपिन्डे दह र जाजरकोटको खलंगा दरबारसम्म पुग्दा कर्णालीको पर्यटन कति विविध छ भन्ने देखिन्छ ।
दसैं–तिहारको लामो बिदा होस् वा अन्य समय, कर्णालीलाई नजिकबाट नियाल्न चाहनेका लागि यी गन्तव्य उपयुक्त विकल्प हुन् । यहाँ प्रकृति हेर्न मात्र होइन, इतिहास बुझ्न, संस्कृति चिन्न र मौलिक जीवनशैली अनुभव गर्न पनि सकिन्छ । यीमध्ये कतिपय पुग्नैपर्ने गन्तव्यहरु पनि छन् । जसलाई छोटकरीमा यहाँ चर्चा गरिएको छ ।
देउती बज्यै, बुलबुले र काँक्रेविहार
कर्णाली प्रवेशको मुख्य मार्ग सडक हो । बाँकेको कोहलपुरबाट रत्नराजमार्ग हुँदै यात्रा गर्दा सुर्खेत–बर्दिया सीमा क्षेत्र बबईबाट कर्णाली प्रवेश हुन्छ । कोहलपुरबाट झण्डै तीन घण्टाको यात्रापछि प्रदेश राजधानी वीरेन्द्रनगर पुग्न सकिन्छ । वीरेन्द्रनगरमा काँक्रेबिहार, बुलबुले ताल, घण्टाघर र शहीद पार्कलगायत पर्यटकीय स्थल छन् । बिहानीपख देउती बज्यै मन्दिरमा दर्शनार्थीको भीड लाग्छ । देउती बज्यै प्रदेशकै मुख्य धार्मिक शक्तिपीठमध्ये एक हो ।
दोस्रो लुम्बिनीका नामले चिनिने काँक्रेबिहार वीरेन्द्रनगरदेखि करिब दुई किलोमिटर टाढा छ । ढुङ्गैढुङ्गाको अनौठो कलात्मक शैलीमा निर्माण भएको काँक्रेबिहारले पर्यटकलाई आकर्षित गर्छ । सुर्खेतमा मदन–आश्रित पार्क, गिद्धेडाँडा, जाजुरा दह, गुप्ती मादले गुफा र शिव गुफाजस्ता नयाँ पर्यटकीय स्थल पनि छन् । दैलेख, कालीकोट, जुम्ला हुँदै रारा तथा हुम्ला र डोल्पा जाने पर्यटकका लागि सुर्खेतका यी गन्तव्य महत्वपूर्ण स्थल हुन् ।
देवोभूमि र इतिहासको खुला पाना
धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले दैलेख कर्णालीको महत्वपूर्ण जिल्ला हो । यहाँ ज्वाला क्षेत्रअन्तर्गत एक सय आठ शक्तिपीठ छन् । भैरवी, मालिका, स्वामी कार्तिक्य, बिन्ध्यावासिनी र लामाद्धाला चर्चित छन् । पञ्चकोशी ज्वाला क्षेत्र हिन्दु धर्मावलम्बीका लागि मात्र नभई बौद्ध धर्मावलम्बीका लागि पनि महत्वपूर्ण मानिन्छ । पश्चिम नेपालका हिन्दु धर्मवालम्बीले यहाँ देवकर्म, पितृकर्मलगायत धार्मिक अनुष्ठान गर्दा सिद्धि प्राप्त हुने विश्वास गर्छन् । शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र कोटीलालाई पञ्चकोशी भनिन्छ ।
दुल्लुको ऐतिहासिक महत्व अझ गहिरो छ । नेपाली भाषाको उत्पति स्थल जुम्लाको सिंजालाई मानिए पनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख दैलेखको पञ्चकोशी क्षेत्रको दुल्लुमा रहेको छ । अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा पुरानो मानिएको दामुपाल, अढईपालद्वारा शाक्य नौ सय तिन तदानुसार विक्रम संवत् एक हजार अठ्तिस को शिलालेख यसै क्षेत्रमा रहेको छ । १४१४ सालमा पृथ्वी मल्लले बनाएको सात हात लामो किर्तिस्तम्भ पनि यही क्षेत्रमा छ । पादुकामा रहेको अशोक चल्लको स्तम्भ, शिरस्थानमा रहेको अभिलेख तथा बाटोभरि गाडिएका बीरखम्बाका अभिलेखले नेपाली भाषा र पश्चिम नेपालको इतिहास बुझ्न महत्वपूर्ण आधार दिन्छन् ।
नेपालकै अग्लो पचाल झरना
कालीकोटको पचाल झरना गाउँपालिकाको खार्दुमा रहेको ‘पचाल झरना’ उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्यअन्तर्गत पर्छ । ३८१ मिटर उचाइबाट खस्ने यो एसियाकै दोस्रो र नेपालकै सबैभन्दा अग्लो झरनाका रुपमा परिचित छ । जिल्ला सदरमुकाम मान्मादेखि १८ कोस उत्तर पूर्वमा रहेको पचालझरना घना जंगलको बीचमा छ । चर्चित धार्मिक स्थल पुग्न मालिकाबाट बग्ने पानीको मुल एकै ठाउँमा मिसिएपछि यो झरना बनेको हो । कालीकोट पुग्ने पर्यटकले खाँडाचक्र पञ्चदेवल तथा पिलीमा रहेको युद्ध स्मारक पनि अवलोकन गर्न सक्छन् ।
सिंजा सभ्यता
सिंजा उपत्यका नेपालकै ऐतिहासिक र महत्वपूर्ण पर्यटकीय स्थल हो । सिंजा सभ्यता नेपाली भाषाको उद्गमस्थल र सिंजा राज्यका रुपमा परिचित छ । बाइसे–चौबिसे राज्यको समयमा सिंजा एक बलियो राज्यका रुपमा रहेको थियो । जिल्ला सदरमुकाम खलंगादेखि करिब दुई घण्टाको यात्रापछि सिंजा क्षेत्र पुग्न सकिन्छ । इतिहास, भाषा र सभ्यताको अध्ययन गर्न चाहनेका लागि सिंजा महत्वपूर्ण गन्तव्य हो ।
स्वर्गकी अप्सरा ‘रारा’
रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । प्रदेश राजधानी सुर्खेतबाट करिब डेढ दिनको यात्रामा रारा पुग्न सकिन्छ । रारा यात्राका लागि साना चारपांग्रे सवारीसाधन र मोटरसाइकल सहज मानिन्छन । सुर्खेत, दैलेख, कालीकोट र जुम्ला हुँदै मुगुमा रहेको रारा ताल पुग्न सकिन्छ । प्राकृतिक सुन्दरताले सजिएको रारा नेपालकै सबैभन्दा ठूलो ताल हो । यो १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
रारा राष्ट्रिय निकुञ्जभित्र रहेको राराको गहिराई १६७ मिटर छ भने समुद्री सतहबाट १० हजार फिट उचाइमा पर्दछ । सफा पानीमा स्नो ट्राउट माछा, हाँस र जलेवाजस्ता चरा डुबुल्की मारेको दृश्यले राराको वातावरण अनुपम देखिन्छ । ताल वरिपरिका विभिन्न फूलको मगमग बासना र प्राकृतिक सौन्दर्यले पर्यटकलाई मोहित तुल्याउँछ । दिनभर तालको किनार–किनार घुमेर साँझपख भुलभुले वा सिंजा क्षेत्रमा बास बस्ने गरी राराबाट फर्कन सकिन्छ ।
शे–फोक्सुन्डोको निलो आकर्षण
डोल्पा १२अै महिना घुम्नका लागि उपयुक्त जिल्ला हो । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने शे–फोक्सुन्डो तालसम्म पुग्न सुरुमा दुनै पुग्नुपर्छ । नेपालगञ्जबाट सोझै जहाजमार्फत पनि दुनै पुग्न सकिन्छ । हालसम्मको रेकर्डअनुसार समुद्री सतहबाट ११ हजार ८ सय फिट उचाईमा रहेको शे–फोक्सुन्डो नेपालको दोस्रो गहिरो ताल हो । यसको गहिराइ १४५ मिटर छ । डोल्पामै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवा देख्न सकिन्छ ।
शे–फोक्सुन्डोबाट रारा पदयात्राका लागि पनि राम्रो सम्भावना छ । तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छन् । माथिल्लो डोल्पाको नगलापास क्षेत्र अति रमणीय छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका पनि डोल्पामै पर्दछ ।
लिमी उपत्यकाको प्राचीन संसार
हुम्ला भर्खरै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको जिल्ला हो । कर्णाली करिडोरले हुम्लाका केही गाउँ हुँदै सदरमुकाम जोडेको छ । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै पनि जिल्ला सदरमुकाम सिमिकोट पुग्न सकिन्छ । त्यहाँबाट करिब एक हप्ताको पैदल यात्रापछि लिमी उपत्यका पुग्न सकिन्छ । छिटो यात्राका लागि हेलिकप्टरको सुविधा पनि उपलब्ध हुन्छ । ११औं शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका सानाठुला गुम्बा यहाँका मुख्य आकर्षण हुन ।
खस सम्राज्यको आधार खण्ड र तिब्बती संस्कृति पनि यहाँका विशेषता हुन् । लिमी उपत्यका प्राचीनकालका बहुमुल्य मुर्ति र गुम्बाले भरिएको क्षेत्र हो । महँगा मुर्ति, पौराणिक वास्तुकला, पुराना गरगहना तथा गुम्बामा कुँदिएका पौराणिक कलाकृति यहाँका थप आकर्षण हुन । मुगु र हुम्लाको सीमामा चंखेली हिमाल छ । उक्त हिमालको चित्र एक रुपैयाँको नोटमा पनि राखिएको थियो । हिन्दु तथा बौद्ध धर्मावलम्बीको तीर्थस्थल मानसरोवर पुग्न हुम्लाकै बाटो प्रयोग हुन्छ ।
कुपिन्डे दह
सल्यानको पश्चिम क्षेत्रमा रहेको कुपिन्डे दह सल्यानमा छ । सुर्खेतदेखि करिब तीन घण्टाको सडक यात्रापछि दहमा पुग्न सकिन्छ । छोटो दुरी, प्राकृतिक सुन्दरता र कम खर्चिलो भएकाले कुपिन्डे दह धेरैको रोजाइ बन्ने गरेको छ । सल्यानको जिल्ला सदरमुकाम खलंगादेखि करिब २४ किलोमिटर पश्चिममा रहेको यो दह पहाडले घेरिएको छ । २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको दहको लम्बाई ८३४, चौडाइ ५०३ र गहिराइ ३४ मिटर छ । समुद्री सतहबाट १ हजार १२० मिटर उचाइमा रहेको दहमा ५४ लाख ८२ हजार ५७४ घनमिटर पानी छ ।
इतिहास बोकेको खलंगा दरबार
जाजरकोटको खलंगा दरबार क्षेत्र अर्को पर्यटकीय स्थल हो । २५० वर्ष पहिले बनेको जाजरकोट दरबार कला, संस्कृति तथा इतिहासका दृष्टिले महत्वपूर्ण मानिन्छ । विक्रम संवत १४०० मा रजौटा राज्यको अस्तित्वमा आएको दरबार तत्कालीन राजा गजेन्द्रनारायण शाहले निर्माण गरेका थिए । जिल्ला सदरमुकाम खलंगाको आडैमा जाजरकोट दरबार क्षेत्र अवस्थित छ । १७ कार्तिक २०८० मा गएको विनाशकारी भूकम्पले क्षति पुगेको दरबार अहिले पुनर्निर्माणको पर्खाइमा छ ।
स्यार्पु ताल
रुकुम पश्चिम जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने स्यार्पु ताल पनि घुम्नलायक गन्तव्य हो । समुद्री सतहबाट झण्डै १ हजार ३७२ देखि १ हजार ४४२ मिटरसम्मको उचाइमा अवस्थित यो तालको क्षेत्रफल झण्डै २.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सिमैछरी लेकबाट दादुरे हुँदै आउने कञ्चन पानी र खारखोला यस तालका मुख्य स्रोत हुन् । यसको निकास भेरी नदीमा पुगेर मिसिन्छ । पर्यटकीय दृष्टिकोणले यहाँ नौकाविहार लोकप्रिय छ । साथै उच्च हिमाली तथा पहाडी क्षेत्रको व्यावसायिक माछापालनका लागि पनि यो ताल चर्चित छ । ताल र वरपरको मनोरम दृश्य अवलोकनका लागि नेपाली सेनाको सहयोगमा अवलोकन टावरसमेत निर्माण गरिएको छ ।








