सुर्खेत । कर्णाली प्रदेश जलस्रोत, जडीबुटी, पर्यटन तथा कृषि उत्पादनलगायत प्राकृतिक स्रोतका दृष्टिले सम्भावनायुक्त प्रदेश हो । भौगोलिक रुपमा विकट र विकासका पूर्वाधारमा पछाडि परेको भनिए पनि कर्णाली सँग आर्थिक समृद्धिको बलियो आधार बन्न सक्ने पर्याप्त स्रोत र सम्भावना छन् । तर सम्भावनाको तुलनामा लगानी र त्यसबाट हुने आर्थिक गतिविधि भने निकै न्यून छ । यही कारण कर्णालीमा अवसर धेरै भए पनि काम र परिणाम भने कम देखिएका छन् । कर्णालीको आर्थिक विकासमा पछिल्लो समय महत्वपूर्ण आधारका रुपमा हेरिएको कर्णाली र भेरी करिडोरले यस क्षेत्रको आर्थिक सम्भावनालाई नयाँ ढंगले जोड्ने अपेक्षा गरिएको छ ।

कर्णाली करिडोर र भेरी करिडोरले कर्णालीका दुर्गम वस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै चीन र भारतसँगको सीमा नाका हुँदै अन्तर्राष्ट्रिय व्यापारको सम्भावनासमेत खोल्न सक्छ । अहिलेको अवस्थामा चीनबाट नेपालमा व्यापार हुने रसुवाको केरुङ नाका र तातोपानी नाका बन्द रहेको अवस्थामा हुम्लाको हिल्सा नाका खोल्न सकियो भने यसले कर्णालीको आर्थिक करिडोरको रुपमा मात्र हैन । देशकै आर्थिक करिडोरको रुपमा विकास हुनेछ ।
त्यस्तै सडक पूर्वाधारको विस्तारसँगै स्थानीय उत्पादनले बजार पाउने, पर्यटन व्यवसाय विस्तार हुने, उद्योग तथा व्यापारमा लगानी बढ्ने र रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गर्न सकिन्छ । कर्णालीमा आर्थिक समृद्धि हासिल गर्न सकिने प्रमुख क्षेत्र जलविद्युत्सँगै जडीबुटी हो । हिमाली तथा पहाडी क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको माग देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत रहेको छ । तर कर्णालीबाट संकलन हुने जडीबुटीको ठूलो हिस्सा प्रशोधन र मूल्य अभिवृद्धि नगरी कच्चा पदार्थकै रुपमा बाहिरिने गरेको अवस्था छ ।
स्थानीयस्तरमै जडीबुटी प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्ने उद्योग स्थापना गर्न सके किसान, संकलक र स्थानीय व्यवसायीले बढी आम्दानी लिन सक्नेछन् । यसका लागि राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति र लगानीमैत्री वातावरण बनाउन आवश्यक छ । कर्णालीको पर्यटन क्षेत्र पनि लगानीका लागि महत्वपूर्ण सम्भावनाको क्षेत्र हो । रारा, शे–फोक्सुण्डो, सिंजा, पञ्चकोशी, काँक्रेबिहार, चन्दननाथ, लिमी उपत्यका, मुगु–हुम्लाका हिमाली क्षेत्रलगायत प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले कर्णालीलाई पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सक्छन् ।
तर पर्यटन पूर्वाधारको अभाव, सडक तथा हवाई यातायातको सिमितता, स्तरीय होटल तथा आवासको कमी र प्रचारप्रसारको कमजोर अवस्थाका कारण अपेक्षित पर्यटक भित्र्याउन सकिएको छैन । पर्यटन विस्तारसँगै होटल व्यवसायको सम्भावना पनि उत्तिकै ठूलो छ । अहिले कर्णालीका अधिकांश पर्यटकीय तथा जिल्ला सदरमुकाम क्षेत्रमा आवश्यकताअनुसार स्तरीय होटल तथा पर्यटन सेवाको विकास हुन सकेको छैन । निजी क्षेत्रले होटल, रिसोर्ट, होमस्टे, यातायात तथा अन्य पर्यटकीय सेवामा लगानी बढाउन सके स्थानीयस्तरमै रोजगारी सिर्जना हुनुका साथै पर्यटनबाट प्राप्त आम्दानी गाउँसम्म पुग्न सक्ने पर्यटन क्षेत्रका युवा व्यवसायी केशव कठायत बताउँछन् ।
“कर्णालीको चुनौती भनेको लगानीको अभाव हो । साना तथा मझौला लगानीकर्ता विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक भएपनि उनीहरुको लगानीले मात्र प्रदेशको समग्र अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन कठिन छ,” उनले भने, “ठूला आयोजना, उद्योग तथा पूर्वाधार निर्माणका लागि ठूलो पूँजी आवश्यक पर्छ । तर भौगोलिक विकटता, यातायातको उच्च लागत, बजारको सीमितता, विद्युत तथा अन्य पूर्वाधारको अवस्था र लगानीको जोखिमका कारण निजी क्षेत्र कर्णालीमा अपेक्षाकृत रुपमा आकर्षित हुन सकेको छैन ।”
कर्णालीमा ठूला उद्योगधन्दा स्थापना नहुँदा वित्तीय क्षेत्र पनि पर्याप्त रुपमा आकर्षित हुन सकेको छैन् । बैंक तथा वित्तीय संस्थाका लागि लगानीको सुरक्षित वातावरण, नियमित कारोबार र प्रतिफलको सुनिश्चितता महत्वपूर्ण हुन्छ । उत्पादनमूलक उद्योग, ठूला व्यापारिक गतिविधि र पूर्वाधार विकास विस्तार नभएसम्म वित्तीय संस्थाको लगानी क्षमता पनि सीमित रहन्छ । त्यसैले कर्णालीमा आर्थिक गतिविधि बढाउन सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्दै जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।
कर्णाली करिडोरलाई सडक निर्माणको आयोजनाका रुपमा मात्रै नभई कर्णालीको समग्र आर्थिक रुपान्तरणको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन पिताम्बर ढकाल बताउँछन् । “आर्थिक करिडोर आसपासका क्षेत्रमा उत्पादन, भण्डारण, प्रशोधन, व्यापार तथा पर्यटन केन्द्र विकास गर्न सकिएमा सडकले मानिस र सवारी साधन ओसार्ने मात्रै नभई अर्थतन्त्रलाई समेत गतिशील बनाउनेछ,” उनले भने, “स्थानीय उत्पादनलाई बजारसँग जोड्ने गरी कृषि उपज संकलन केन्द्र, चिस्यान केन्द्र, गोदाम, साना उद्योग र व्यापारिक केन्द्र स्थापना गर्नुपर्छ ।”
कर्णालीको आर्थिक विकासका लागि स्थानीय नागरिकको सहभागिता पनि उत्तिकै महत्वपूर्ण छ । बाहिरबाट आउने लगानीले मात्र कर्णालीको अर्थतन्त्र बलियो नहुने र स्थानीय जनशक्ति, स्थानीय उत्पादन, स्थानीय उद्यमी र स्थानीय स्रोतलाई आर्थिक गतिविधिसँग जोड्नुपर्ने कर्णाली योजना आयोगका पूर्व सदस्य कृष्ण आचार्यले बताए । “युवालाई सीप तथा उद्यमशीलताको तालिम दिएर उनीहरुलाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने अवस्थामा पु¥याउन आवश्यक छ,” उनले भने, “अहिले कर्णालीको मुख्य समस्या सम्भावना नभएको होइन, सम्भावनालाई उत्पादन र आम्दानीमा बदल्न नसक्नु हो । विभिन्न क्षेत्रमा सम्भावना हुँदाहुँदै पनि पूर्वाधार, पूँजी, प्रविधि र बजारको अभावमा ती क्षेत्र अपेक्षित रुपमा अघि बढ्न सकेका छैनन ।”
कर्णाली करिडोरलाई आधार बनाएर सडकसँगै आर्थिक करिडोरको अवधारणा अघि बढाउन सकेमा यसले कर्णालीको आर्थिक विकास ठुलो योगदान दिने जानकारहरु बताउँछन् । करिडोर आसपासका क्षेत्रमा जलविद्युत्, पर्यटन, जडीबुटी, कृषि तथा व्यापारिक केन्द्र विकास गर्न सके कर्णालीको अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सकिने उनीहरुको भनाई छ । यसका लागि सरकारको लगानीसँगै निजी क्षेत्रको पूँजी, स्थानीय समुदायको सहभागिता र वित्तीय संस्थाको विश्वास आवश्यक रहेको जानकारहरुको धारणा छ ।
कर्णालीमा अब सम्भावनाको चर्चा मात्र नभई त्यसलाई परियोजनामा रुपान्तरण गरेर कार्यान्वयन गर्ने आवश्यकता रहेको कर्णाली योजना आयोगका पूर्व सदस्य अशोकनाथ योगीले बताए । “कर्णाली करिडोर त्यसका लागि महत्वपूर्ण आधार बन्न सक्छ, सडकले कर्णालीलाई जोड्दैछ भने त्यससँगै लगानी, उत्पादन, रोजगारी र बजारलाई पनि जोड्न सकियो भने कर्णालीको समृद्धिको यात्रा टाढा छैन्,” उनले भने, “कर्णालीको विकास अब सडक र भवन निर्माणमा सीमित हुनु हुँदैन, यहाँको प्राकृतिक स्रोतलाई आर्थिक शक्तिमा बदल्ने दीर्घकालीन रणनीति आवश्यक छ ।”
उनका अनुसार जलस्रोतबाट ऊर्जा, जडीबुटीबाट उद्योग, पर्यटनबाट रोजगारी, कृषिबाट उत्पादन र करिडोरबाट व्यापार विस्तार गर्न सकियो भने कर्णाली मुलुककै आर्थिक समृद्धिको नयाँ केन्द्र बन्न सक्छ । त्यसका लागि सरकार, निजी क्षेत्र, वित्तीय संस्था र स्थानीय समुदायबीच बलियो सहकार्य अपरिहार्य रहेको उनले बताए ।
जडिबुटी उद्योगमा लगानीको खाँचो
कर्णाली बहुमूल्य जडीबुटीको खानी भएको क्षेत्र हो । कर्णालीमा हिमाल, जंगल र गाउँमा नेपालमा पाइने १४ सय जडिबुटीका प्रकारमध्ये ७ सय कर्णालीमा पाइने गरेको विभिन्न तथ्यहरु सार्वजनिक भएका छन् । जडिबुटीको खेती, संरक्षण र त्यसको ब्यापारले मात्र कर्णालीको भविष्यमा समृद्ध बन्न सक्छ । हिमाली हिरा भनेर चिनिएको यार्सागुम्बा कर्णाली क्षेत्रमा पाईन्छ । विश्व बजारमा राम्रो मुल्य पर्नेे, व्यवस्थित व्यापार गर्न सके कर्णालीको मुहार नै फेरिने कर्णालीका जडिबुटी व्यवसायी अजबहादुर गिरीले बताए ।
उन भन्छन्, “हामीले कर्णालीमा उत्पादन हुने जडीबुटी लगायतका अन्य वस्तु विश्व बजारसम्म पु¥याउन सक्ने हो भने पनि कर्णाली आफैँ समृद्ध हुनसक्छ, तर अहिलेसम्म पनि राज्य र नीजि क्षेत्रका लगानीकर्ता यसतर्फ आकर्षित हुन सकेका छैनन् ।”
कर्णाली प्रदेशमा हाल कुल ग्रार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको १३.८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८२/०८३ मा २८ प्रतिशत पु¥याउने लक्ष्य छ । प्राकृतिक जडिबुटीको हाल १० प्रतिशत उत्पादन हुने गरेकोमा आर्थिक वर्ष २०८२/०८३ मा २५ प्रतिशत उत्पादन गर्ने लक्ष्य रहेको छ । हाल १ हजार ३ सय हेक्टरमा जडिबुटी खेती हुने गरेकोमा आगामी पाँच वर्षमा २ हजार २ सय हेक्टरमा जडिबुटी खेती गर्ने लक्ष्य छ ।
सिमेन्ट उद्योगले देखाएको सम्भावना
कर्णालीमा पहिलो पटक सबैभन्दा ठुलो उद्योगका रुपमा सुर्खेतको चौकुने गाउँपालिका–९ सुनकाँडामा निर्माण हुने सुर्यतारा सिमेन्ट उद्योगका संरचना धमाधम बन्न थालेका छन् । उद्योग निर्माणका लागि आवश्यक पर्ने क्रसर प्लान्ट, पहुँच मार्ग, आवासलगायतका संरचना निर्माणका काम धमाधम हुन थालेका हुन् । उद्योग स्थापना हुने चौकुने गाउँपालिका–९ सुनकाँडामा उद्योगका लागि आवश्यक पर्ने भौतिक संरचना र उद्योगका लागि चुनढुङ्गा उत्खनन गर्ने ठाउँ बराहताल गाउँपालिका–७ लखरपाटामा पहुँच मार्गका लागि आवश्यक प्रक्रिया अगाडी बढेको छ ।
उद्योग स्थापना हुने सुनकाँडामा सरकारी र निजी जग्गा गरी करिब ५ सय रोपनी क्षेत्रफलमा संरचना निर्माण भइरहेको र प्लान्ट उद्योगका लागि संरचना बनाउन माटो परीक्षण, उद्योगका लागि बनाइने आवासलगायतका संरचनाको काम सुरु भइसकेको परियोजना प्रमुख सञ्जय मिश्राले बताए । “२५० मजदुरले उद्योगलाई आवश्यक पर्ने संरचनाको काम गरिरहेका छन्, अबको १८ महिनाभित्र संरचना निर्माण गरी उद्योग सञ्चालनको तयारी थाल्ने लक्ष्य छ” उनले भने, “उद्योग स्थापनाका लागि करिब १५ अर्ब रुपियाँ लागत रहेको छ, संरचना निर्माण धमाधम भए पनि त्यहाँसम्म पुग्ने सडकको अवस्था भने कमजोर छ ।”
उद्योग स्थापना गर्नु गौरवको विषय भएको र यस उद्योगले चौकुने गाउँपालिकाको आर्थिक समृद्धिका लागि कोसेढुङ्गा सावित हुने गाउँपालिका अध्यक्ष खड्क विकले बताए । उद्योग स्थलसम्म सडक पालिकाको लगानीमा खोलिएको भन्दै उनले उद्योगका लागि आवश्यक पर्ने दुई वटा खोलामा पुल निर्माणका लागि पहल भइरहेको जानकारी दिए ।
उद्योगका लागि आवश्यक कच्चा पदार्थ संकलन गर्न बराहताल गाउँपालिका–७ लखरपाटादेखि मदनभण्डारी राजमार्गको खम्बागाडेसम्म सडक निर्माणका लागि उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयले बजेट विनियोजन गरेको छ । लखरपाटादेखि खम्बागाडेसम्म १० किलोमिटर सडक निर्माणका लागि मन्त्रालयले सडक डिभिजन कार्यालय सुर्खेतमार्फत दुई करोड ९० लाख रुपैयाँ विनियोजन गरेको चौकुने गाउँपालिकाका अध्यक्ष विकले जानकारी दिए ।








