दैलेख । नारायण नगरपालिकामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी एकदिने सचेतना शिविर सम्पन्न भएको छ । शुक्रबार नगरपालिका कार्यालय परिसरमा आयोजित शिविरमा करिब दुई सय ५० जनाले सामाजिक सुरक्षा कोषका सुविधा, आबद्ध हुने प्रक्रिया र सेवाबारे जानकारी लिएका छन् । नारायण नगरपालिकाको आयोजना तथा ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम, युरोपेली युनियन, संयुक्त राष्ट्रसङ्घ, सामाजिक सुरक्षा कोष, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र किर्डार्क नेपालको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख लोमन शर्माले औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समेट्नुपर्ने बताए । शिक्षक, सवारीचालक, सहकारीका कर्मचारी तथा निजी र गैरसरकारी संस्थामा कार्यरत श्रमिकलाई समेत कोषमा आबद्ध गराउन आवश्यक रहेको उनको भनाइ थियो ।
नगर उपप्रमुख तप्ता कुमारी खड्का थापाले निजी तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्न नगरपालिका प्रतिबद्ध रहेको बताइन् । उनले कोषबाट प्राप्त हुने सुविधाबारे श्रमिकलाई पर्याप्त जानकारी दिनुपर्नेमा जोड दिइन् । प्रमुख प्रशासकीय अधिकृत दशरथ राम ओडले योगदानकर्ताले पाउने पेन्सन, उपदान तथा अन्य सामाजिक सुरक्षा सुविधाबारे जानकारी दिए ।
योगदानकर्ताको मृत्यु वा अन्य जोखिमको अवस्थामा आश्रित परिवारले प्राप्त गर्न सक्ने सुविधाका विषयमा पनि सहभागीलाई जानकारी गराइएको थियो । किर्डार्क नेपालका कार्यक्रम संयोजक बिन्दुलाल रेग्मीले सामाजिक सुरक्षा कोष श्रमिकको सामाजिक तथा आर्थिक सुरक्षासँग जोडिएको विषय भएको बताए ।
आइएलओ कर्णाली प्रदेश संयोजक सृजना ढकालले वृद्धावस्था, दुर्घटना तथा अस्वस्थताका अवस्थामा कोषबाट आर्थिक सहयोग प्राप्त गर्न सकिने जानकारी दिइन् । शिविरमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रिया र उपलब्ध सुविधासम्बन्धी पुस्तिका वितरण गरिएको थियो । सहभागीका जिज्ञासा समाधान गर्न परामर्श डेस्कसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ ।









