काठमाडौं । प्रदर्शनको तयारी पूरा भइसकेको अवस्थामा सरकारी हस्तक्षेपको आशंकाले अन्योलमा परेको नेपाली फिल्म ‘पाँच पाण्डव’ अन्ततः शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ।
फिल्मको अग्रिम बुकिङ खुलिसकेको र प्रचारप्रसारसमेत तीव्र पारिएको अवस्थामा बुधबार साँझ सञ्चार मन्त्रालयबाट निर्माण टिमलाई फोन गरी तत्काल बुकिङ रोक्न भनिएको थियो। साथै, फिल्म प्रदर्शन रोकिएको सम्बन्धमा पत्र बुझ्न अर्को दिन मन्त्रालयमा उपस्थित हुन निर्देशन दिइएको थियो।
केन्द्रीय चलचित्र जाँच समितिले सोही दिन फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिसकेको अवस्थामा आएको सरकारी सूचनाले निर्माण टिममा अन्योल सिर्जना गरेको थियो। फिल्म प्रदर्शन रोक्न लागिएको खबर सार्वजनिक भएपछि चलचित्रकर्मीहरूले समेत सरकारी हस्तक्षेपप्रति प्रश्न उठाएका थिए। तर, बिहीबार बिहान फिल्म निर्माण टिम र सेन्सर बोर्डका अधिकारीबीच छलफल भएपछि विवाद टुंगिएको हो। छलफलपछि शुक्रबारदेखि फिल्म प्रदर्शनमा कुनै अवरोध नहुने निष्कर्ष निकालिएको छ।
केन्द्रीय चलचित्र जाँच समितिका विज्ञ सदस्य मनोज पण्डितले फिल्मको विषयवस्तुलाई लिएर एउटा पक्ष असन्तुष्ट रहेको र त्यसैका कारण समस्या उत्पन्न भएको बताए। उनले अब फिल्म प्रदर्शनमा कुनै अवरोध नरहेको स्पष्ट पारे।
पण्डितका अनुसार यस घटनाले तीनवटा महत्त्वपूर्ण सन्देश दिएको छ। पहिलो, केन्द्रीय चलचित्र जाँच समितिको निर्णय आधिकारिक र अन्तिम हुन्छ। दोस्रो, सरकारले फिल्म प्रदर्शनमा अवरोध सिर्जना गर्नेभन्दा पनि आवश्यक वातावरण बनाउन सहयोग गर्नुपर्छ। तेस्रो, धार्मिक तथा साम्प्रदायिक संवेदनशील विषय समेटिएका फिल्मको प्रचारप्रसार गर्दा चलचित्रकर्मीले विशेष सावधानी अपनाउनुपर्छ।
यता फिल्मका लेखक सुशील पौडेलले ‘पाँच पाण्डव’मा कुनै धर्म वा सम्प्रदायलाई अपमान गर्ने अथवा गलत रूपमा प्रस्तुत गर्ने काम नगरिएको दाबी गरेका छन्। महाभारतका पात्रलाई फिल्ममा बिम्बका रूपमा प्रयोग गरिएको उनको भनाइ छ।
उनले फिल्म नहेरी विरोध नगर्न आग्रह गर्दै फिल्म हेरेपछि पनि चित्त नबुझे आलोचना र प्रश्न उठाउन सकिने बताएका छन्। सरकारी हस्तक्षेपको आशंकाबीच उत्पन्न अन्योल हटेसँगै अब ‘पाँच पाण्डव’ शुक्रबारदेखि दर्शकमाझ आउने निश्चित भएको छ।








