२०८३ कात्तिक १९ , बिहीबार

लुम्बिनीले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य



काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा साविक विजेता लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, निरोशन डिकवेलाले २७ बलमा २ चौका र १ छक्कासहित २७ रन जोडे ।

आसिफ शेख र दिलीप नाथले समान २१ रन बनाउँदा शामिन हुसेनले १३ रनको योगदान दिए । ओपनर डार्शी सर्ट भने खेलको पहिलो बलमै आउट भए । त्यस्तै, रुबेन ट्रम्पलम्यानले आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ छक्कासहित १५ रन बनाए । सन्दीप जोराले ९ रन जोडे ।

लुम्बिनीलाई मध्यम योगफलमा रोक्ने क्रममा जनकपुरका स्पिनर प्रभावशाली देखिए । जनकपुरले कुल १७ ओभर स्पिन बलिङ गराएको थियो । स्पिनरले ४ विकेट लिँदा तीव्र गतिका बलरले ३ विकेट हात पारे ।

जनकपुरका विशाल सुशलिङ र राहुल यादवले समान २ विकेट लिए । विशालले ४ ओभरमा २१ रन खर्चिए भने राहुलले २ ओभरमा १७ रन दिए । कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले समान १ विकेट लिए ।

यसअघिका सुरुवाती दुई खेलमा विपक्षी टोलीलाई क्रमशः ८७ र ९७ रनमा समेटेको लुम्बिनीले ब्याटिङमा खासै चुनौती सामना गर्नुपरेको थिएन । पोखराविरुद्धको जितपछि कप्तान रोहित पौडेलले पनि टोलीको ब्याटिङले पर्याप्त परीक्षणको अवसर नपाएको बताएका थिए ।

तर, जनकपुरविरुद्ध भने लुम्बिनीको ब्याटिङ वास्तविक परीक्षामा परेको छ । पहिलो बलदेखि नै विकेट गुमाउन थालेको लुम्बिनीका सबै १० ब्याटर क्रिजमा उत्रिनुपरेको थियो । अब १५० रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले कस्तो प्रदर्शन गर्छ भन्ने चासो बढेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बिहीबार