२०८३ कात्तिक १९ , बिहीबार

फूल खेतीबाट मनग्य आम्दानी, बजार विस्तारले किसान उत्साहित



सुर्खेत । तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेपछि वीरेन्द्रनगरका पुष्प व्यवसायी उत्साहित भएका छन्।

विगतमा बजार अभावका कारण बारीमै फूल कुहिने समस्या भोग्दै आएका किसानले यस वर्ष तिहारअघि नै अग्रिम माग पाउन थालेपछि व्यवसायप्रति थप आशा जगाएको बताएका छन्। वीरेन्द्रनगर–४ की प्रिसिला गिरीले पाँच कट्ठा जग्गामा सयपत्रीका दुई हजार पाँच सय बोट लगाएकी छन्। कृषि विषयको अध्ययनपछि फूल खेतीमा सम्भावना देखेर यस व्यवसायमा लागेको उनी बताउँछिन्।

पछिल्लो समय चाडपर्व, विवाह, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा फूलको प्रयोग बढ्दै गएपछि बजारको सम्भावना पनि विस्तार भएको उनको अनुभव छ। यस वर्ष फूलको माग अग्रिम रूपमा आउन थालेपछि मागअनुसार आपूर्ति गर्नसमेत कठिन भएको गिरीले बताइन्। उनका अनुसार बाहिरबाट फूल आयात गर्नुभन्दा स्थानीयस्तरमै उत्पादन बढाउन सके किसानले राम्रो आम्दानी गर्न सक्छन्।

परम्परागत खेतीको तुलनामा पुष्प खेतीबाट दोब्बर आम्दानी गर्न सकिने उनको अनुभव छ। गत वर्ष तीन कट्ठामा फूल खेती गरेर तीन लाख रुपैयाँ आम्दानी गरेकी उनले यस वर्ष पाँच लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकी छन्।

‘यसपटक फूलको माग र बजार हेरेर अर्को वर्ष खेती विस्तार गर्ने योजना बनाएकी छु,’ गिरीले भनिन्, ‘आफूले सैद्धान्तिक रूपमा सिकेको सीपलाई व्यवहारमा उतार्न र आत्मनिर्भर बन्न पनि यो व्यवसायले सहयोग गरेको छ।’

त्यस्तै, वीरेन्द्रनगर नगरपालिका–९ का अशोक चौधरी पनि व्यावसायिक फूल खेतीमा सक्रिय छन्। उनले तिहारलाई लक्षित गर्दै तीन कट्ठा जमिनमा सयपत्री फूल लगाएका छन्। विगत तीन वर्षदेखि तिहार लक्षित खेती गर्दै आएका चौधरीले यस वर्ष नयाँ जातको सयपत्री प्रयोग गरेका छन्।

काठमाडौंको क्रमा कृषि केन्द्रबाट ल्याइएको ‘क्रमा पाँच सय पच्पन्न’ जातको बिरुवा अग्लो हुने र धेरै फूल्ने भएकाले उत्पादन राम्रो भएको उनले बताए। यस वर्ष बिरुवाको जात र खेती गर्ने प्रविधि परिवर्तन गरेकाले उत्पादनमा सुधार आएको उनको भनाइ छ।

बजारमा फूलको मूल्यसमेत राम्रो पाएकाले यस वर्ष तिहारमा दुई लाख रुपैयाँभन्दा बढीको फूल बिक्री गर्ने उनको अपेक्षा छ। हाल सयपत्री फूल प्रतिकिलो चार सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री भइरहेको चौधरीले जानकारी दिए।

‘गत वर्षको तुलनामा यस वर्ष उत्पादन राम्रो भएको छ। तर तिहार नजिकिँदै गर्दा मौसममा आएको परिवर्तन, वर्षा र तीव्र हावाहुरीले केही क्षति पु¥याएको छ,’ उनले भने। चौधरीले खेतबाटै स्थानीय उपभोक्तालाई फूल बिक्री गर्दै आएका छन्। सुर्खेतसहित दैलेख, जुम्ला, जाजरकोट र बर्दियासम्म फूलको बजार विस्तार भएको उनले बताए।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आयातित फूलको गुणस्तर परीक्षण र क्वारेन्टाइन जाँचलाई प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ। भारतबाट आयात हुने फूलको नियमनमा कडाइ गर्न सके स्थानीय किसानले उचित मूल्य र बजार पाउने उनको विश्वास छ। उनका अनुसार स्वदेशी फूलको प्रयोग बढ्दा किसानको आम्दानी मात्रै बढ्दैन, देशभित्रै रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना हुन्छन्। यसले बेरोजगार युवालाई पनि व्यावसायिक कृषितर्फ आकर्षित गर्न सक्छ।

यस वर्ष फूलको माग उल्लेख्य रूपमा बढेकाले आगामी वर्ष पाँच कट्ठामा खेती विस्तार गर्ने योजना बनाएको चौधरीले बताए। कम जग्गामा पनि खेती गर्न सकिने र तुलनात्मक रूपमा राम्रो आम्दानी हुने भएकाले पुष्प व्यवसाय युवाका लागि आकर्षक विकल्प बन्न सक्ने उनको अनुभव छ।

स्थानीय किसानको अनुभवले वीरेन्द्रनगरमा पुष्प व्यवसाय विस्तार हुँदै गएको संकेत गर्छ। बजारको मागअनुसार उत्पादन, गुणस्तरीय बीउबिजन, व्यवस्थित बजारीकरण र आयातित फूलको प्रभावकारी नियमन हुन सके कर्णालीको पुष्प व्यवसायले थप व्यावसायिक गति लिन सक्ने देखिन्छ।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बिहीबार