२०८३ असोज ५ , सोमबार

स्थानीय तहमै करदाता सेवा



दैलेख । करदाता सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय सुर्खेत र दैलेखका स्थानीय तहबीच समझदारी भएको छ । समझदारीसँगै जिल्लाका विभिन्न पालिकाबाटै करसम्बन्धी सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढेको हो । आन्तरिक राजस्व कार्यालय सुर्खेतका अनुसार नारायण, दुल्लु, चामुण्डा बिन्द्रासैनी र आठबिस नगरपालिका तथा नौमुले, भगवतीमाई, डुङ्गेश्वर, गुराँस र ठाँटीकाँधलगायत स्थानीय तहसँग करदाता सेवा विस्तारका लागि समझदारी गरिएको छ ।

समझदारीअनुसार स्थानीय तहबाटै व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न आवश्यक सहजीकरण, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ताका लागि सिफारिस, अन्तःशुल्क इजाजतपत्र तथा नवीकरणमा सहजीकरण र कर चुक्ता प्रमाणपत्रका लागि आवश्यक सिफारिसलगायत सेवा उपलब्ध गराइनेछ ।

नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले आन्तरिक राजस्व कार्यालय सुर्खेतसँग समझदारी गरी नगरपालिकाबाटै करसम्बन्धी सेवा प्रवाह सुरु गरिएको जानकारी दिए । उनका अनुसार सामान्य कर सेवा लिनसमेत सुर्खेत पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न स्थानीयस्तरमै सेवा उपलब्ध गराउन थालिएको हो ।

सामान्य प्यानमा दर्ता भएका व्यवसायीले समेत कर चुक्ताका लागि सुर्खेत पुग्नुपर्ने बाध्यता रहँदा सेवाग्राहीको समय र खर्च बढ्दै आएको थियो । स्थानीय तहबाटै सेवा उपलब्ध भएपछि उक्त समस्या कम हुने अपेक्षा गरिएको छ । आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख कर अधिकृत चकप्रसाद ढुङ्गानाले दैलेखका ११ वटै स्थानीय तहसँग कर सेवा विस्तारका लागि समझदारी गरिएको बताए । केही पालिकाबाट सेवा सुरु भइसकेको र बाँकी पालिकामा पनि छिट्टै सेवा सञ्चालन गरिने उनले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा नारायण नगरपालिका, आठबिसकोट नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका र गुराँस गाउँपालिकाबाट सेवा सुरु भएको छ । महाबु, नौमुले, डुङ्गेश्वर, ठाँटीकाँध र भगवतीमाई गाउँपालिकाबाट पनि छिट्टै सेवा प्रवाह गरिनेछ । स्थानीय तहबाट करदाता सेवा विस्तार भएपछि कर प्रशासनको पहुँच गाउँगाउँसम्म पुग्नुका साथै सेवाग्राहीको समय, यातायात खर्च र झन्झट कम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार