२०८३ असोज ५ , सोमबार

औलोकाे संक्रमण बढ्दाे



सल्यान । कालिमाटी गाउँपालिकामा २७ वर्षीय एक युवकमा औलो संक्रमण पुष्टि भएको छ । कालिमाटी गाउँपालिका चार निवासी मेघराज सुनारमा औलो संक्रमण देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । भारतको गुवा क्षेत्रबाट घर फर्किएको करिब एक सातापछि सुनार बिरामी परेका थिए । ज्वरोसहित स्वास्थ्यमा समस्या देखिएपछि उनी प्रारम्भिक उपचारका लागि रामपुर स्वास्थ्य चौकी पुगेका थिए ।

स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मार्फतको प्रारम्भिक परीक्षणमा औलो संक्रमणको आशङ्का देखिएपछि थप परीक्षणका लागि जिल्ला अस्पताल सल्यान पठाइएको थियो । जिल्ला अस्पतालमा गरिएको परीक्षणबाट समेत औलो संक्रमण पुष्टि भएको कालिमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख थापाले जानकारी दिए । उनका अनुसार भारतबाट फर्किएको करिब एक सातामै बिरामी परेकाले सुनारलाई भारतमै औलो संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

संक्रमण पुष्टि भएपछि स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा रिजाल, कालिमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख थापा तथा प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत श्याम आचार्यसहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो । टोलीले संक्रमित सुनारलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको छ । साथै उनीस‌ंग प्रत्यक्ष सम्पर्कमा रहेका तथा आसपासका क्षेत्रमा औलोको जोखिम हुन सक्ने व्यक्तिको समेत खोजी गरी परीक्षण गरिएको थियो ।

स्वास्थ्य शाखाका अनुसार करिब २५ देखि ३० जनाको परीक्षण गर्दा अन्य कसैमा पनि औलो संक्रमण पुष्टि भएन । कालिमाटी गाउँपालिकामा यसअघि पनि औलो संक्रमण देखिएको थियो । एक वर्षअघि गाउँपालिका तीनमा एक जनामा औलो संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्यकर्मीहरूले भारत तथा औलोको जोखिमयुक्त क्षेत्रबाट फर्किएका व्यक्तिमा लगातार ज्वरो आउने, शरीर काँप्ने, टाउको दुख्ने वा अत्यधिक पसिना आउनेजस्ता लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन आग्रह गरेका छन् । समयमै परीक्षण र उपचार गरेमा औलो नियन्त्रण गर्न सकिने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार