२०८३ असोज ५ , सोमबार

जुम्लामा एक हजार दुई सय ९२ छात्रालाई एचपीभी खोप



जुम्ला । जुम्लाकाे एक नगरपालिका र सात गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ । असोज पाँच र ६ गते सञ्चालन हुने अभियानअन्तर्गत जिल्लाका ८४ वटा खोप केन्द्रबाट एक हजार दुई सय ९२ जना छात्रालाई खोप लगाइँदैछ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माका अनुसार कक्षा ६ मा अध्ययनरत एक हजार दुई सय ५७ जना र विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका ३५ जना बालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

अभियानका लागि आवश्यक तयारी पूरा भएको उनले बताए । खोप अभियानका लागि चन्दननाथ नगरपालिकामा १७ वटा खोप केन्द्र निर्धारण गरिएको छ । पातारासीमा १२, तिलामा नौ, गुठीचौरमा छ तथा तातोपानी, कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा आठ–आठ वटा केन्द्र तोकिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

चन्दननाथमा दुई सय ४९, तातोपानीमा एक सय ८९, पातारासीमा एक सय ९६, गुठीचौरमा एक सय १५, तिलामा एक सय ४७, हिमामा एक सय २०, सिंजामा एक सय १८ र कनकासुन्दरीमा एक सय २३ जना छात्रालाई एचपीभी खोप लगाउने लक्ष्य राखिएको छ । ३५ बालिका विद्यालयबाहिर एचपीभी खोप अभियानका क्रममा जुम्लामा १० वर्ष उमेर समूहका ३५ जना बालिका विद्यालयबाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ ।

शतप्रतिशत साक्षरता घोषणा गरिएको जिल्लामा विद्यालय जाने उमेरका बालिका विद्यालयबाहिर रहेको तथ्यांकले शिक्षाको पहुँचबारे प्रश्न उठाएको छ । विद्यालयबाहिर रहेका बालिकामध्ये कनकासुन्दरीमा १७, पातारासीमा १० र सिंजामा आठ जना छन् । अभियानका लागि एक हजार दुई सय ९२ डोज एचपीभी खोप, एक हजार चार सय १९ वटा एडी सिरिन्ज, ७६ वटा सेफ्टी बक्स, ७६ वटा खोप रजिस्टर तथा एक हजार चार सय १९ वटा खोप कार्ड तयारी गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार