सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समितिले पार्टी सदस्यता नवीकरणलाई प्रभावकारी बनाउन एकमहिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रदेश समितिको बैठकले असोज महिनाभर सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । प्रदेश संयोजक विमला केसीका अनुसार अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यको नेतृत्वमा स्थानीय तह, प्रदेश समिति सदस्य तथा स्थानीय तहका पदाधिकारी सम्मिलित संयुक्त टोली परिचालन गरिनेछ । ती टोलीले सम्बन्धित क्षेत्रमा पुगेर सदस्यता नवीकरणको कामलाई सहजीकरण तथा अनुगमन गर्नेछन् ।
अभियानका क्रममा टोलीका सदस्यलाई कम्तीमा २५ दिन पार्टीको काममा खटाउने निर्णयसमेत गरिएको केसीले जानकारी दिए । पार्टी सदस्यसँग प्रत्यक्ष सम्पर्क गरी सदस्यता नवीकरणको प्रक्रिया अघि बढाइने जनाइएको छ । अभियानअन्तर्गत टोल तथा बस्तीस्तरमा भेला र प्रशिक्षणसमेत सञ्चालन गरिनेछ । त्यसक्रममा सदस्यता नवीकरणको आवश्यकता, पार्टीको राजनीतिक तथा वैचारिक कार्यदिशा, समसामयिक राजनीतिक अवस्था र पार्टी सदस्यको भूमिकाबारे जानकारी गराइनेछ ।
प्रदेश समितिको बैठकले आगामी महाधिवेशनपछि पार्टीको संगठन र कार्यशैली कस्तो बनाउने भन्ने विषयमा स्थानीयस्तरबाट सुझाव संकलन गर्ने निर्णय पनि गरेको छ । पार्टीभित्रको अनुगमन तथा मूल्यांकन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक सुझाव लिखित रूपमा संकलन गरी प्रदेश समितिमा बुझाउने व्यवस्था गरिनेछ ।
प्रदेश संयोजक केसीले देशभर पार्टी सदस्यता नवीकरणको काम अघि बढिरहेको अवस्थामा कर्णालीमा त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको बताए । अभियानमार्फत सदस्यता नवीकरणसँगै पार्टी संगठनको अवस्था, सदस्यको सक्रियता तथा स्थानीय तहमा पार्टी गतिविधिबारे जानकारी संकलन गर्ने तयारीसमेत गरिएको प्रदेश समितिले जनाएको छ ।








