सुर्खेत । दैलेखको डुङ्गेश्वर गाउँपालिका–५, डाँडापराजुलकी ३६ वर्षीया विना शाहीको उपचारका लागि दुई दिनमै १ लाख ७३ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ।

मिर्गौलासम्बन्धी गम्भीर स्वास्थ्य समस्याका कारण प्रदेश अस्पताल, सुर्खेतको ICU मा उपचाररत शाहीको तत्काल मिर्गौलाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको र आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि युवा समाजसेवी लवविक्रम सिजापतिले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका थिए।
सिजापतिका अनुसार अपिलपछि देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिले स्वस्फूर्त रूपमा सहयोग गरेका हुन्। दुई दिनको अवधिमा रु. १ लाख ७३ हजार ५ सय सहयोग रकम संकलन भएको उनले जानकारी दिएका छन्।
संकलित रकम शाहीको उपचारका लागि सम्बन्धित बिरामीलाई हस्तान्तरण गरिने सिजापतिले बताएका छन्। सहयोग अभियानबाट प्राप्त रकमले शाहीको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
आवश्यक रकम संकलन भएपछि बिहीबारदेखि सहयोग अभियान बन्द गरिएको सिजापतिले जानकारी दिएका छन्। उनले अब उक्त खातामा थप रकम जम्मा नगर्नसमेत सहयोगीहरूलाई आग्रह गरेका छन्।
सहयोग अभियानमा जोडिएका सबैप्रति आभार व्यक्त गर्दै सिजापतिले आर्थिक सहयोगभन्दा पनि संकटको समयमा अपरिचित व्यक्तिको पीडालाई आफ्नै पीडा सम्झेर देखाएको सद्भाव, मानवता र आत्मीयता महत्वपूर्ण रहेको बताएका छन्।







