२०८३ असोज १६ , शुक्रबार

सुर्खेत–२ मा कांग्रेसको क्षेत्रीय अधिवेशन सर्वसम्मत हुने



सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेतृत्व तथा महाधिवेशन प्रतिनिधि चयन सर्वसम्मत रूपमा गर्ने सहमति जुटेको छ।

अधिवेशनको तयारीका क्रममा देखिएको आन्तरिक मतभेद अन्त्य गर्दै क्षेत्र नम्बर २ का विभिन्न पक्षका नेता तथा कार्यकर्ताबीच सहमति र सहकार्यका आधारमा अधिवेशन अघि बढाउने समझदारी बनेको हो।

नगर, प्रदेश तथा क्षेत्रीय कार्यसमितिसहित महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत रूपमा चयन गर्ने गरी सहमति जुटेको कांग्रेसका केन्द्रीय प्रतिनिधि श्रीराम लामिछानेले जानकारी दिए। क्षेत्र नम्बर २ बाट ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। कांग्रेसले प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरेको छ।

अधिवेशनको प्रक्रिया र नेतृत्व चयनका विषयमा पछिल्लो एक सातादेखि देखिएको मतभेदका कारण क्षेत्रीय कार्यालयमा तालाबन्दीसमेत गरिएको थियो। सहमति जुटेसँगै कार्यालयमा गरिएको तालाबन्दी खोलिएको लामिछानेले बताए।

लामिछानेका अनुसार पार्टीको बृहत्तर हित, संगठनको एकता र आगामी निर्वाचनलाई केन्द्रमा राखेर सबै पक्षका नेता एक ठाउँमा आएका हुन्। आन्तरिक प्रतिस्पर्धालाई विवादका रूपमा अघि नबढाई सहमति र सहकार्यबाट नेतृत्व चयन गर्ने वातावरण बनेको उनले बताए।

पार्टीको बृहत्तर हित र संगठनको एकतालाई केन्द्रमा राखेर सबै पक्ष सहमतिमा आएका छन्। अब सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर संगठन विस्तार र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुन्छौँ,” लामिछानेले भने।
सहमति जुटेसँगै क्षेत्र नम्बर २ मा अधिवेशनका बाँकी प्रक्रिया सहमतिका आधारमा अघि बढ्ने भएका छन्।

कांग्रेस नेताहरूले सर्वसम्मत नेतृत्व चयनले लामो समयदेखि देखिएको आन्तरिक मतभेद अन्त्य गर्दै संगठनलाई थप एकताबद्ध बनाउन सहयोग पुग्ने बताएका छन्।
यसअघि सुर्खेत–२ मा महाधिवेशन प्रतिनिधि चयन प्रक्रियालाई लिएर अन्योल देखिएको थियो।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार