दिलिप कंडेल चाैकुने । चौकुने गाउँपालिकामा प्रारम्भिक बाल विकास सहजकर्ताहरूका लागि सञ्चालन गरिएको १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत सहजकर्ताहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्दै बालबालिकाको सिकाइलाई थप प्रभावकारी, व्यवहारिक र बालमैत्री बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

१० दिनसम्म सञ्चालन भएको तालिममा प्रारम्भिक बाल विकासको अवधारणा, बालबालिकाको उमेरअनुसार हुने शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास, बालमैत्री शिक्षण विधि, खेलमार्फत सिकाइ, कक्षाकोठा व्यवस्थापन तथा बालबालिकासँग गरिने व्यवहारलगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
तालिमको समापन कार्यक्रम चौकुने गाउँपालिका सामाजिक विकास संयोजक तथा वडा नं. ८ का वडा अध्यक्ष कमल बहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा खडक विवस वासपाने प्रमुख अतिथि तथा नर बहादुर बान्तोला विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
समापन कार्यक्रममा चौकुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत आशा बुढामगर, स्याक नेपालका मनिषा ज्ञवाली र तेज सोनाम, युनिसेफका डिल्ली प्रसाद पौडेल, Link Now का तेज प्रकाश गौतम लगायतको उपस्थिति रहेको थियो। तालिमको सहजीकरण ललि बाह्रघरेले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि खडक विवस वासपानेले प्रारम्भिक बाल विकास बालबालिकाको समग्र विकासको आधार भएको बताउनुभयो। बालबालिकाको प्रारम्भिक उमेरमा उनीहरूले प्राप्त गर्ने वातावरण, व्यवहार र सिकाइले उनीहरूको आगामी जीवनमा समेत प्रभाव पार्ने भएकाले प्रारम्भिक बाल विकास सहजकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
उहाँले सहजकर्ताहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै बालबालिकाको रुचि, क्षमता र आवश्यकतालाई बुझेर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। बालबालिकालाई केवल पाठ्यक्रममा आधारित सिकाइमा सीमित नगरी खेल, सिर्जनात्मक गतिविधि, कथा, गीत तथा व्यवहारिक अभ्यासका माध्यमबाट सिकाइलाई रमाइलो र प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो।
प्रमुख अतिथि वासपानेले प्रारम्भिक बाल विकासको गुणस्तर सुधार गर्न स्थानीय सरकार, शिक्षक तथा सहजकर्ता, अभिभावक र सम्बन्धित संघसंस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले तालिममा सिकेका कुरालाई कक्षाकोठामा प्रयोग गरी बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्न सहजकर्ताहरूलाई आग्रह गर्नुभयो।
त्यस्तै, कार्यक्रमका अध्यक्ष कमल बहादुर जिसीले प्रारम्भिक बाल विकास सहजकर्ताको क्षमता अभिवृद्धि गर्नु भनेको बालबालिकाको भविष्य निर्माणमा लगानी गर्नु भएको बताउनुभयो। बालबालिकाको सिकाइको पहिलो चरणलाई व्यवस्थित र प्रभावकारी बनाउन सहजकर्ताहरू सक्षम हुनुपर्ने उहाँको भनाइ थियो।
अध्यक्ष जिसीले १० दिने तालिमबाट सहजकर्ताहरूले नयाँ ज्ञान, सीप र अनुभव हासिल गरेको बताउँदै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बालबालिकालाई डर, दबाब र दण्डको वातावरणमा नभई माया, सद्भाव, प्रोत्साहन र खेलका माध्यमबाट सिकाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो।
उहाँले प्रारम्भिक बाल विकास केन्द्रमा आवश्यक शैक्षिक सामग्रीको प्रयोग, सरसफाइ, बालमैत्री वातावरण तथा बालबालिकाको नियमित सहभागितामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। स्थानीय तहले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि सम्बन्धित निकाय तथा साझेदार संस्थासँगको समन्वयलाई निरन्तरता दिने समेत बताउनुभयो।
शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले प्रारम्भिक बाल विकासको गुणस्तर सुधारका लागि सहजकर्ताको भूमिका महत्वपूर्ण रहेको बताउँदै तालिमबाट प्राप्त ज्ञानलाई नियमित कार्यसम्पादनमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत आशा बुढामगरले बालबालिकाको आधारभूत सिकाइ र विकासका लागि प्रारम्भिक बाल विकास केन्द्रलाई थप व्यवस्थित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा स्याक नेपालका मनिषा ज्ञवाली र तेज सोनाम, युनिसेफका डिल्ली प्रसाद पौडेल तथा Link Now का तेज प्रकाश गौतम लगायतले प्रारम्भिक बाल विकासको महत्व, सहजकर्ताको भूमिका र तालिमबाट प्राप्त सीपलाई व्यवहारमा लागू गर्ने विषयमा धारणा राख्नुभएको थियो।
तालिमका सहजकर्ता ललि बाह्रघरेले १० दिनको अवधिमा सहभागी सहजकर्ताहरूले सक्रिय रूपमा सहभागिता जनाउँदै विभिन्न अभ्यास तथा सिकाइ गतिविधिमा संलग्न भएको बताउनुभयो।
तालिमले सहजकर्ताहरूलाई बालबालिकाको सिकाइलाई थप प्रभावकारी बनाउन आवश्यक ज्ञान र व्यवहारिक सीप प्रदान गरेको उहाँको भनाइ थियो।
तालिममा सहभागी सहजकर्ताहरूले पनि तालिमबाट प्रारम्भिक बाल विकाससम्बन्धी आफ्नो ज्ञान तथा सीपमा वृद्धि भएको बताएका छन्। बालबालिकाको उमेर, रुचि र आवश्यकताअनुसार शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने, खेल तथा सिर्जनात्मक गतिविधिबाट सिकाउने र बालमैत्री वातावरण निर्माण गर्ने विषयमा तालिमबाट महत्वपूर्ण जानकारी प्राप्त भएको उनीहरूको भनाइ छ।
प्रारम्भिक बाल विकासलाई शिक्षा क्षेत्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्दै सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने र बालबालिकाको सिकाइलाई गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम समापनसँगै सम्पन्न भएको हो।








