कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनु आफैँमा गौरवको विषय हो । तर गौरवको नाममा उत्सव मनाएर मात्र पुग्दैन । यो प्रतियोगिता कर्णालीको क्षमता, व्यवस्थापन र राजनीतिक इच्छाशक्तिको परीक्षा पनि हो । प्रतियोगिता तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन भन्ने अन्योलभन्दा ठूलो प्रश्न अहिले उपलब्ध पूर्वाधार र अवसरलाई कर्णालीले दीर्घकालीन उपलब्धिमा बदल्न सक्छ कि सक्दैन भन्ने हो । राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीको प्रतिस्पर्धा मात्र होइन, प्रदेशको पहिचान प्रस्तुत गर्ने राष्ट्रिय मञ्च पनि हो । कर्णालीमा प्रतिभाको कमी छैन, कमी छ त अवसर, प्रशिक्षण, पूर्वाधार र निरन्तर प्रोत्साहनको । गाउँ–गाउँमा लुकेका प्रतिभालाई पहिचान गरेर उचित प्रशिक्षण दिन सके कर्णालीले राष्ट्रिय खेलकुदमा मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै आफ्नो प्रभाव देखाउन सक्छ ।

तर यसका लागि देखावटी तयारी पर्याप्त हुँदैन । रंगशाला निर्माण भयो भन्दैमा खेलकुद विकास हुँदैन । खेलाडीका लागि गुणस्तरीय आवास, पोषण, स्वास्थ्य सेवा, यातायात, सुरक्षा र आवश्यक खेल सामग्रीको सुनिश्चितता हुनुपर्छ । त्यसमा पनि प्रतियोगिताका नाममा सार्वजनिक बजेट खर्च गर्ने तर प्रतियोगिता सकिएपछि पूर्वाधार अलपत्र छाड्ने पुरानै प्रवृत्ति दोहोरिनु हुँदैन । अझ महत्वपूर्ण कुरा, प्रतियोगिताको नाममा हुने खर्च पारदर्शी हुनुपर्छ । सार्वजनिक स्रोतको प्रत्येक रुपैयाँको हिसाब जनताले खोज्न पाउने अधिकार राख्छन् । निर्माण र व्यवस्थापनका काममा गुणस्तरभन्दा पहुँच, भागबन्डा र कमिसन हाबी भयो भने राष्ट्रिय खेलकुद कर्णालीका लागि अवसर नभई अर्को निराशाको अध्याय बन्न सक्छ ।
त्यसैले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयसँगै स्पष्ट जिम्मेवारी र प्रभावकारी अनुगमन आवश्यक छ । प्रतियोगिता सकिएपछि पनि रंगशाला र खेल पूर्वाधार स्थानीय खेलाडीको प्रशिक्षण तथा नियमित प्रतियोगिताका लागि उपयोग हुने सुनिश्चितता अहिले नै गर्नुपर्छ । दसौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि केही दिनको उत्सव होइन, भविष्य निर्माणको अवसर हो । अब कर्णालीले उद्घाटनको भव्यता होइन, परिणामको प्रभाव देखाउनुपर्छ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नु पहिलो खुड्किलो मात्र हो । यसलाई कर्णालीको स्थायी खेलकुद संस्कृतिमा रूपान्तरण गर्नु नै वास्तविक सफलता हुनेछ ।







