सुर्खेत । आजको सुर्खेतमा विद्युत् सुविधा सामान्यजस्तै लागे पनि करिब पाँच दशकअघि अवस्था निकै फरक थियो । राष्ट्रिय प्रसारण लाइन सुर्खेत पुगेको थिएन । त्यो बेला जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा सरकारी कार्यालय र बजार विस्तार हुँदै गर्दा विद्युतको माग बढिरहेको थियो । यही आवश्यकताबीच स्थानीय जलस्रोत उपयोग गरेर सुर्खेतलाई उज्यालो बनाउने योजना अघि बढ्यो—झुप्रा साना जलविद्युत् आयोजना, २०३४ सालमा तत्कालीन राजा वीरेन्द्रले ३ सय ४५ किलोवाट क्षमताको झुप्रा साना जलविद्युत् आयोजना उद्घाटन गरेका थिए ।

राष्ट्रिय प्रसारण प्रणालीबाट अलग्गै सञ्चालन हुने ‘रन अफ रिभर’ प्रकृतिको यो आयोजना त्यतिबेला वीरेन्द्रनगर केन्द्रित विद्युत् आपूर्तिको मुख्य आधार बनेको थियो । आयोजनामा १ सय १५ किलोवाट क्षमताका तीनवटा टर्बाइन–जेनेरेटर जडान गरिएको थियो । तीनवटै पूर्ण क्षमतामा सञ्चालन हुँदा ३ सय ४५ किलोवाट विद्युत् उत्पादन हुन्थ्यो । स्थानीय जलस्रोतबाट उत्पादन गरिएको विद्युतले विस्तार हुँदै गरेको वीरेन्द्रनगरलाई उज्यालो दिन थालेको थियो । त्यतिबेला झुप्रा आयोजनाबाट ५ सय ४८ घरेलु र आठ औद्योगिक उपभोक्ताले विद्युत् सेवा लिइरहेको जल तथा ऊर्जा आयोगका अभिलेखमा उल्लेख छ । तर आयोजना
सञ्चालनमा आएको करिब एक दशकपछि यसको उत्पादन क्षमतामा ह्रास आउन थाल्यो । तीनमध्ये एउटा टर्बाइन बिग्रियो । अर्कोतर्फ झुप्रा खोलामा पानीको बहावसमेत घट्दै गयो । पर्याप्त पानी नहुँदा दुईवटा टर्बाइनबाट करिब १ सय ५ किलोवाटका युनिट मात्र सञ्चालनमा रहे । परिणामत ३ सय ४५ किलोवाट जडित क्षमता भएको आयोजनाबाट पनि उत्पादन तथा वितरण करिब २ सय ३० किलोवाटमा सीमित हुन पुग्यो ।
पानी घटेपछि संकट गहिरियो
झुप्रा आयोजना कमजोर हुनुको कारण पुरानो प्रविधि वा मेसिन बिग्रिनुमा मात्रै सीमित थिएन । २०४२/४३ पछिको अध्ययनले आयोजनाको इन्टेकभन्दा माथिल्लो क्षेत्रमा सिँचाइका लागि पानी मोडिनु तथा जलाधार क्षेत्रमा भएको वन विनाशले झुप्रा खोलाको बहाव घटेको औँल्याएको थियो । अर्थात्, आयोजनाको विद्युत् उत्पादनको आधार बनेको पानीको स्रोतमा नै दबाब बढिसकेको थियो । यही जलस्रोत अहिले भने वीरेन्द्रनगर उपत्यकाको खानेपानीको मुख्य आधार बनेको छ ।
झुप्रा जलविद्युत् आयोजनाको पानी प्रयोग हुने क्षेत्रबाटै पछि वीरेन्द्रनगरमा खानेपानी आपूर्ति हुन थाल्यो । २०५७ सालमा झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था स्थापना भएपछि झुप्रा क्षेत्रको पानी वीरेन्द्रनगरको खानेपानी प्रणालीसँग जोडिएको इतिहास छ । अहिले उक्त संस्था सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका रूपमा परिचित छ । यसरी कुनै समय वीरेन्द्रनगरलाई विद्युत् दिएको झुप्राको पानी अहिले उपत्यकाका नागरिकका लागि खानेपानीको स्रोत बनेको छ ।
माग बढ्यो, झुप्राको क्षमता घट्यो
झुप्रा आयोजनाले सामना गरेको अर्को चुनौती सुर्खेतको तीव्र विस्तार थियो । तत्कालीन मध्यपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकामका रूपमा वीरेन्द्रनगर विकास हुँदै जाँदा सरकारी तथा अर्धसरकारी कार्यालय थपिँदै थिए । बजार विस्तारसँगै विद्युत्को माग पनि निरन्तर बढिरहेको थियो । तत्कालीन सरकारी अध्ययनले २०४६/४७ सम्म सुर्खेतको पिक लोड ५ सय किलोवाटभन्दा बढी पुग्ने अनुमान गरेको थियो । तर ३ सय ४५ किलोवाट जडित क्षमता भएको झुप्रा आयोजना आफैँ पूर्ण क्षमतामा चल्न नसकिरहेको अवस्थामा बढ्दो माग धान्न सम्भव थिएन ।
त्यसैले नेपालगन्जबाट करिब ३५–४० किलोमिटर प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् ग्रिडमा सुर्खेतलाई जोड्ने विकल्प अघि सारियो । त्यसको केही समयपछि राष्ट्रिय प्रसारण प्रणाली विस्तार हुँदै गयो । २०४५ सालमा कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनमार्फत वीरेन्द्रनगर राष्ट्रिय ग्रिडमा जोडिएपछि झुप्राको उत्पादनमा निर्भर हुनुपर्ने अवस्था अन्त्य भयो । झुप्रा आयोजना त्यसपछि क्रमशः इतिहासमा सीमित हुँदै गयो । लेकबेँसी नगरपालिका–१० का वडाध्यक्ष पर्शुराम भण्डारीका अनुसार आयोजनाबाट उत्पादन हुने विद्युत् २०५६ सालदेखि पूर्ण रूपमा बन्द भएको हो ।
जंगलले ढाकियो पुरानो विद्युतगृह
उत्पादन बन्द भए पनि झुप्रा आयोजनाको संरचना भने अझै देखिन्छ । बाँध, ड्यामस्थल र विद्युत्गृहका पुराना संरचना अहिले पनि त्यहाँ छन् । कुनै समय सुर्खेतको ऊर्जा आपूर्तिको आधार बनेको आयोजना अहिले जंगलले ढाकिएको अवस्थामा छ । नेपाल विद्युत् प्राधिकरणका पछिल्ला अभिलेखमा समेत झुप्रा लघु जलविद्युत् आयोजना सूचीकृत छ । तर त्यसको जडित क्षमता अभिलेखमा रहे पनि नियमित विद्युत् उत्पादन भने लामो समयदेखि बन्द छ ।
अब झुप्रामै सौर्य ऊर्जाको उज्यालो
पुरानो जलविद्युत् आयोजना बन्द भएको ठाउँमा अहिले भने नयाँ ऊर्जा प्रविधि भित्रिएको छ। नेपाल विद्युत् प्राधिकरणले सोही क्षेत्रमा दुई मेगावाट क्षमताको झुप्रा सौर्य विद्युत् आयोजना निर्माण गरिरहेको छ । लेकबेँसी नगरपालिका–१०, साटाखानीमा प्राधिकरणको स्वामित्वमा रहेको पाँच बिघा १२ कट्ठा जग्गामा सौर्य आयोजना निर्माण भइरहेको हा । पुरानो झुप्रा जलविद्युत् आयोजनाको रिजर्भ ड्याम क्षेत्रमा सोलार प्यानल जडान गर्ने गरी आयोजना अघि बढाइएको छ ।
आयोजनामा ३ हजार ४ सय १६ वटा सोलार प्यानल जडान गरी एसीतर्फ दुई मेगावाट र डीसीतर्फ २.४ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । जर्मन सरकारको केएफडब्ल्यू विकास बैंकको अनुदान सहयोगमा निर्माण भइरहेको आयोजना ग्राउन्ड माउन्टेड ग्रिड–कनेक्टेड सौर्य प्रणालीमा आधारित छ । निर्माण व्यवसायी प्राजेल ग्रीन इनर्जी लिमिटेडका सिनियर सिभिल इन्जिनियर आकाश मदनवालका अनुसार आयोजनाको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ । अहिले सोलार प्यानल राख्ने संरचना, पावर हाउसको मुख्य कन्ट्रोल रुम तथा प्रसारण लाइन विस्तारको काम भइरहेको छ ।
आयोजना तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको मदनवालले बताए । उनका अनुसार आगामी डिसेम्बरसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य छ । उत्पादित विद्युत् वीरेन्द्रनगर–११ स्थित सुब्बाकुना सबस्टेसनमा पु¥याएर राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । त्यसका लागि करिब साढे तीन किलोमिटर लामो प्रसारण लाइन विस्तार गरिएको छ । यसरी पाँच दशकअघि झुप्रा खोलाको पानीबाट वीरेन्द्रनगरलाई उज्यालो दिएको ठाउँमा अहिले सूर्यको प्रकाशबाट विद्युत् उत्पादन गर्ने तयारी भइरहेको छ । पानीबाट सुरु भएको झुप्राको ऊर्जा यात्रा अब सौर्य ऊर्जासम्म आइपुगेको छ ।







