सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ निर्धारित मितिमै सञ्चालन गर्ने गरी तयारी तीव्र पारिएको छ । आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशका सुर्खेतमा सञ्चालन हुने प्रतियोगिताका लागि खेलस्थल, खेलाडीको बसोबास, पूर्वाधार, खरिद तथा व्यवस्थापनका कामलाई अघि बढाइएको आयोजकले जनाएको छ ।

राष्ट्रिय खेलकुदको दसौँ संस्करण कर्णालीमा आयोजना गर्ने नेपाल सरकारको २०८३ भदौ २२ गतेको निर्णयलाई स्वागत गर्दै मूल आयोजक समितिले प्रतियोगिता भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । प्रत्येक दुई वर्षमा चक्रीय प्रणालीअनुसार आयोजना हुँदै आएको राष्ट्रिय खेलकुदमार्फत स्थानीय तहदेखि खेल प्रतिभाको खोजी, पहिचान र उत्पादन गर्ने उद्देश्यसमेत राखिएको छ ।
आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिष्दमा आयोजित पत्रकार सम्मेलन मार्फत कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले प्रतियोगिताका लागि सुर्खेत रंगशालाको काम करिब पूर्ण रूपमा सम्पन्न भएको बताए । उनका अनुसार असोजको अन्तिमसम्म रंगशाला हस्तान्तरण हुने र सरसफाइको कामसमेत अन्तिम चरणमा पुगेको छ । रंगशालाको काम १०० प्रतिशत सम्पन्न भएको छ । अहिले सरसफाइलगायतका काम सकिँदै छन्,” सदस्य सचिव चन्दले भने । उनका अनुसार प्रतियोगिताका लागि खेल संघ तथा सम्बन्धित संस्थासँग निरन्तर संवाद र समन्वय भइरहेको छ ।
प्रतियोगिताका क्रममा खेलाडी तथा अन्य सहभागीको बसोबास व्यवस्थापन भने चुनौतीका रूपमा रहेको चन्दले बताए । यद्यपि उपाध्यक्षको नेतृत्वमा बसोबासलगायतका व्यवस्थापनका काम सम्पन्न गरिने उनको भनाइ छ । सुर्खेतमा मात्रै करिब ३ हजार बेडको व्यवस्था रहेको र आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले जानकारी दिए ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि मूल आयोजक समितिले विभिन्न महत्वपूर्ण निर्णयसमेत गरेको छ । निर्णयअनुसार प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । प्रतियोगितामा ३२ खेल विधामा प्रतिस्पर्धा गराउने निर्णय गरिएको छ ।
३२ मध्ये अधिकांश खेल सुर्खेतमै सञ्चालन गर्ने तयारी गरिएको छ । भौगोलिक अवस्था तथा पूर्वाधारको उपलब्धताका आधारमा केही खेल भने अन्य जिल्लामा सञ्चालन हुनेछन् । आयोजकका अनुसार दैलेख, कालिकोट, सल्यान र जुम्लालगायत जिल्लामा समेत खेल सञ्चालन गर्ने तयारी छ । त्यस्तै केही खेल नेपालगन्जमा आयोजना हुनेछन् । नेपालगन्जमा सुटिङ, टेनिसलगायतका खेल सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले पनि प्रतियोगिता निर्धारित समयमै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । उनका अनुसार प्रतियोगिताका लागि ४४ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ भने थप बजेट आवश्यक रहेकाले माग गरिएको छ । अर्थ मन्त्रालयले प्रतियोगिताका लागि करिब ७१ करोड रुपैयाँ बजेट सुनिश्चित गर्ने विषयमा काम अघि बढाएको उनले जानकारी दिए ।
मेहताका अनुसार प्रतियोगितामा सहभागी हुने खेल तथा खेलाडीका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढिसकेको छ । खेल सञ्चालनका लागि आवश्यक व्यवस्थापन तथा पूर्वतयारीका कामसमेत समानान्तर रूपमा अगाडि बढाइएको उनले बताए । निर्धारित समयमै खेलकुद प्रतियोगिता हुन्छ, त्यसको सुनिश्चितता भइसकेको छ, मेहताले भने । उनका अनुसार प्रतियोगितालाई सफल बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग आवश्यक समन्वय तथा सहकार्य भइरहेको छ ।
मूल आयोजक समितिले प्रतियोगितालाई निजी संघ–संस्था तथा सबै सरोकारवाला निकायको सहभागितामा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणा अवलम्बन गर्दै प्रायोजकसँग समझदारीपत्र (एमओयू) गरी प्रतियोगिता व्यवस्थापनमा सहकार्य गर्ने तयारी छ । त्यसैगरी प्रतियोगिता सञ्चालनका लागि विषयगत उपसमिति गठन गर्ने निर्णय गरिएको छ ।
दसौँ राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि समेत आवश्यक तयारी अघि बढाइएको छ । पारा राष्ट्रिय खेलकुद भने मंसिर १५ गते सञ्चालन गर्ने तयारी रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव मेहताले जानकारी दिए । कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुदको ठूलो संस्करण आयोजना हुन लागेकाले यसलाई प्रदेशको खेलकुद विकासका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । खेल पूर्वाधारको विकास, खेलाडीको प्रतिभा पहिचान, स्थानीयस्तरमा खेलकुदको विस्तार तथा पर्यटन प्रवद्र्धनमा समेत प्रतियोगिताले योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिता सफल बनाउन खेल संघ, स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायबीच निरन्तर समन्वय र सहकार्यलाई प्राथमिकता दिएको जनाएको छ । अहिलेको तयारीअनुसार पूर्वाधार, खेल सामग्री, खेलस्थल, आवास तथा व्यवस्थापनका कामलाई समयमै पूरा गरी मंसिर १६ गतेदेखि दसौँ राष्ट्रिय खेलकुद सुरु गर्ने लक्ष्य राखिएको छ ।
दुविधा नराख्न आग्रह
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमै हुने भन्दै प्रतियोगिता सर्नेमा कुनै दुविधा नराख्न आग्रह गरेका छन्।
आइतबार सुर्खेतमा बसेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्रतियोगिताको औपचारिक उत्सव सुरु भएको बताए।
दशौं राष्ट्रिय खेलकुद हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नुहोला,’ उनले भने, ‘दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो। प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो।’ उनले विगतका राष्ट्रिय खेलकुद प्रतियोगिताभन्दा प्रभावकारी ढंगले यसपटकको प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको बताए। प्रतियोगिता सफल बनाउन तीन तहका सरकारसहित सबै सरोकारवाला मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पनि आइतबारको बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा प्रत्याभूति भएको बताए। उनले प्रतियोगिता सफलतापूर्वक आयोजना भएपछि कर्णाली प्रदेश ठूलो राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम छ भन्ने सन्देश जाने बताए। कर्णालीका धेरै जिल्लामा खेलकुदका पूर्वाधार निर्माण भइसकेको र खेलकुद मन्त्रालयको प्राविधिक टोलीले पूर्वाधारबारे अध्ययन गरिरहेको उनले जानकारी दिए।
यसैबीच, खेल संघका प्रतिनिधिहरूले दशौं राष्ट्रिय खेलकुद समयमै हुनेमा आशंका व्यक्त गरेपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले प्रतियोगिता सर्ने विषयमा शंका नगर्न आग्रह गरेका छन्। ‘यहाँ समयमा खेल हुन्छ कि हुँदैन या फेरि सर्छ कि भन्ने गुनासो सुनिन्छ। तर हामीले यसलाई एउटा फ्रेस स्टार्ट ठानेका छौँ। त्यसैले ढुक्क हुन अनुरोध गर्दछु,’ उनले भने। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि कर्णाली प्रदेशमा आयोजना गर्ने तयारी छ।








