सुर्खेत । ६ वर्षअघिसम्म उनी हट्टाकठ्ठा थिए । गाउँमा कसैको घरको छाना छाउन होस् या घरको बान्नो लगाउन वा कसैको खेतबारी जोत्न होस् कि कसैको घाँस काटिदिन होस् । छिमेकीको हरेक काम र क्रियाकलापमा उनी नाइ नास्ती नगरी काम गर्थेँ । चाडपर्वको समयमा नाचगान गर्नुप¥यो भने मादल पनि उत्तिकै बजाउने । तर ६ वर्षअघि रुखबाट लडेर घाईते भएपछि उनको जीबनको रौनक र जोस सबै हराएको छ । न उनी कसैको काम गर्न सक्छन् न त आफ्नो नै ।

सामान्य हलचल गर्न पनि अर्कैको सहारा चाहिन्छ । सुर्खेतको लेकवेशी नगरपालिका– १, लेखफर्साका ५७ वर्षिय चक्रबहादुर रानाको जीबन एक्कासी फेरियो । वनको पाले रहेका उनी २०७७ साल मंशीर २७ गते वनमा हेरफेर गरेर फर्किने बेला घरमा घाँस लैजाने भन्दै रुखमा चढे । आधा घाँस काट्दा काट्दै एक्कासी उनी रुखबाट खसे । उनले धेरै हारगुहार गरे तर सुनसान जंगलमा कसैले सुनेन । खसेको करिब ५/६ घण्टापछि मात्रै उनलाई परिवार र छिमेकीले खोजी गर्ने क्रममा भेट्टाए । उपचारका लागि नेपालगञ्ज पु¥याए ।
करिब एक महिनाको उपचारपछि उनी निको त भए तर हातखुट्टा नचल्ने भए । सामान्य खेती किसानी गरेर पेट पाल्दै आएको परिवारको मुलीको अवस्था त्यस्तो भएपछि श्रीमती पुर्णकलालाई निकै सकस भएको छ । ‘धेरै समयसम्म थेरापी गरिरहन पनि हाम्रो अवस्थाले सकेन,’ उनले भनिन्, ‘यीनको उपचारका लागि जग्गा पनि बेचेँ, ६ लाखभन्दा बढी उपचारमै खर्च भयो ।’ खर्च जति भएपनि काम गर्न सक्ने भएको भए आफ्नो चित्त बुझ्ने उनको भनाइ छ ।
कर्णालीमा किसानहरुलाई घाँसका लागि ठूला–ठूला रुख र भीर छिचोल्नुपर्ने बाध्यता कुनै नौलो होइन । गत वर्ष भीरमा घाँस काट्ने क्रममा कालिकोटकी २९ रुपकली विक घाईते भइन् । उनी भीरबाट खस्नेबित्तिकै कसैले देखेन । लामो समय छट्पटिएकी उनलाई बाटो हिँड्ने मानिसहरुले देखेर उद्दार गरे । परिवारले उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्यायो । उनको ढाड भाँचियो । उनको मेरुदण्डको अपरेशन गर्नुप¥यो । उनी बाँचिन् तर पेटमा रहेको पाँच महिनाको बच्चाको जीबन सकियो । ‘घर नजिक घाँस हुँदैन,’ उनले भनिन्, ‘राम्रो घाँस खोज्न टाढा टाढाको वनमा जानुपर्छ ।’ अहिले रुपकली अपाङ्गता भएर बाँचेकी छिन् ।
घाँस काट्ने क्रममा लडेर घाईते भएर जीबन जिउन गाह्रो भएका चक्रबहादुर र रुपकली एक प्रतिनिधि पात्र मात्रै हुन् । भीरबाट लडेर मृत्यु भएकाहरुको तथ्यांक पनि सोच्न बाध्य बनाउने छ । कर्णालीमा चालु आर्थिक वर्षको साउनदेखि यता मात्रै पनि ८ जनाको मृत्यु भइसकेको छ । प्रदेश प्रहरीको तथ्यांकअनुसार कर्णालीमा भिर/बाटो/सडक र रुखबाट लडेर चालु आर्थिक वर्ष २०८३/०८४ मा हालसम्म १७ जना घाइते भएका छन् । यो अवधिमा जाजरकोटमा एक बालकसहित तीन जना, सुर्खेत, दैलेख, सल्यान, कालिकोट र डोल्पामा एक/एक जनाको मृत्यु भएको छ । घाइतेतर्फ जाजरकोटमा ६, सल्यानमा ५, रुकुम पश्चिममा ३ तथा सुर्खेत, दैलेख र कालिकोटमा एक÷एक जना छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार आव २०७७/०७८ देखि २०८२/०८३ सम्मका सात आर्थिक वर्षमा कर्णालीमा भिर, बाटो, सडक र रुखबाट लडेर २९२ जनाको मृत्यु भएको प्रहरी तथ्यांक छ । यही अवधिमा ४३१ जना घाइते भएका छन् भने चार जना बेपत्ता भएका छन् । चालु आर्थिक वर्षको हालसम्मको तथ्यांकसमेत जोड्दा मृत्यु हुनेको संख्या ३०० र घाइते हुनेको संख्या ४४८ पुगेको छ ।
तथ्यांकले आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ लाई अझ जोखिमपूर्ण देखाउँछ । २०८०/०८१ मा मात्रै ७३ जनाको मृत्यु र ११७ जना घाइते भएका थिए । त्यसको अर्को वर्ष मृत्यु केही घटेर ५९ जनामा पुगे पनि घाइतेको संख्या भने १६९ पुग्यो, जुन पछिल्ला वर्षहरुमध्येकै सबैभन्दा धेरै हो ।
जिल्लागत तथ्यांक हेर्दा मृत्युको संख्या सल्यानमा सबैभन्दा बढी देखिन्छ । २०७७/०७८ देखि चालु आर्थिक वर्षको हालसम्म सल्यानमा मात्रै ५१ जनाको मृत्यु भएको छ । त्यसपछि जाजरकोट र कालिकोटमा ४२/४२, रुकुम पश्चिममा ३८, सुर्खेतमा ३६ र दैलेखमा ३५ जनाको मृत्यु भएको देखिन्छ । घाइतेको संख्या भने रुकुम पश्चिममा सबैभन्दा धेरै छ । सो अवधिमा रुकुम पश्चिममा ९५ जना घाइते भएका छन् भने सल्यानमा ७९ र जाजरकोटमा ६४ जना घाइते भएका छन् । तथ्यांकले भीर र रुखबाट लडेर मृत्यु हुनेमा पुरुषको संख्या बढी रहेको देखाउँछ । सात आर्थिक वर्षमा मृत्यु भएका ३०० जनामध्ये २०४ पुरुष, ८३ महिला र १३ बालबालिका छन् ।
भीरबाट लडेका महंगो उपचार खर्च तिरेर पुनर्जीबन पाउँछन् तर जीबनभर अपाङ्गता भएर बाँच्नुपर्दा निम्न आर्थिक स्तर भएकालाई थप समस्या छ । वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा ढाड भाँचिएका बिरामीका लागि सरकारले एक लाख रुपैयाँ दिने भएकाले भीरबाट लडेका अधिकांश बिरामी आउने गरेको हाडजोर्नी, नशा, वाथरोग विशेषज्ञ एवम् ट्रमा सर्जन शुभ श्रेष्ठ बताउँछन् । ‘हाम्रो हाडजोर्नी विभागमा अधिकांश बिरामी रुख तथा भीरबाट लडेर ढाड भाँचिएर, खुट्टा तथा हात भाँचिएका बिरामी आउँछन्,’ उनी भन्छन्, ‘दुर्गम जिल्लाका कृषक परिवारका व्यक्ति भीरबाट खसेर उपचारका लागि आउने गर्छन् ।’
अर्थात् भीरबाट लड्नुको तत्कालको परिणाम चोटपटक वा मृत्यु मात्रै होइन, बाँचेका व्यक्तिको लामो समयसम्मको उपचार, पुनःस्थापना र परिवारको आम्दानी गुम्नु पनि हो । चक्रबहादुरको परिवारले उपचारमै ६ लाखभन्दा बढी खर्च गरेको घटना त्यसको उदाहरण हो । खेती किसानीमा निर्भर परिवारका लागि कमाउने मुख्य व्यक्तिले काम गर्न नसक्ने भएपछि उपचार खर्चसँगै दैनिक जीवन धान्ने चुनौती थपिन्छ ।
गत वर्ष भिरबाट लडेर तिला गाउँपालिका–६ सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रावतको मृत्यु भयो । जंगलमा दाउरा काट्न गएका उनी लामो समय घर नफर्किएपछि परिवारले खोजी गर्दा शव भेटियो । सायद घर नजिकै भएको भए उनको समयमै उद्धार हुन पनि सक्थ्यो । कर्णाली प्रदेशमा भीरबाट लडेर मृत्यु र घाईते हुने अधिकांश कृषक परिवारका सदस्य छन् । बालबालिकादेखि वयस्कसम्मका कृषक परिवारका नागरिक घाँस दाउरा काट्दा, गाइवस्तु चराउन जाँदा, वस्तुभाउ चराएर वा घाँस दाउरा बोकेर घर फर्किँदा भीरबाट लडेर ज्यानै जाने जोखिम छ । कृषकका लागि घाँस काट्नै पर्ने र वस्तु भाउ चराउनैपर्ने बाध्यता हुन्छ । जुन बाध्यताले कर्णालीका भीरको जोखिमलाई समेत ख्याल गर्दैन ।
राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्क केलाउँदा कर्णालीमा तीन लाख दुई हजार ६ सय ४० कृषक परिवारले एक लाख १७ हजार ४ सय १० हेक्टर क्षेत्रफलमा खेती गर्छन् । कर्णाली प्रदेश योजना आयोगले २०७६ मा सार्वजनिक गरेको कर्णाली पाश्र्वचित्रमा प्रदेशमा कुल क्षेत्रफलको ३८ प्रतिशत वन क्षेत्रले ढाकेको उल्लेख छ । यसबाहेक यो प्रदेशमा करिब १२.८ प्रतिशत घाँसे मैदान र ३.२ प्रतिशत झाडी रहेको छ । कर्णालीमा १००० मिटरसम्मको उचाइमा साल, सिसौ, खयर, सिमल पर्याप्त हुने गर्दछ । जुन घाँस काट्न किसानहरु भीरको जोखिम मोल्न बाध्य छन् ।
यस्तै कर्णालीमा १००० देखि २००० मिटरसम्मको उचाइमा कटुस, दालचिनी, सल्लालगायत वनस्पति पाइन्छन् भने २००० देखि ३५०० मिटरका बीचमा खर्सु, ओखर, धूपी, देवदार, भोजपत्रलगायत रुख पाइन्छन् । पाश्र्वचित्रअनुसार कर्णालीको ५७ प्रतिशत जमिन भिरालो छ । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सबै नागरिकको सामुहिक विपद् जोखिम बीमा गरेको छ तर भीरबाट लड्ने वा रुखबाट लड्नुलाई सरकारले बीमामा समेटेको छैन । रुख र भीरबाट खस्नु प्राकृतिक नभइ मानिस स्वयमले निम्त्याएको विपद् भएकाले यो बीमाभित्र नपर्ने तरसरकारले किसानलाई घाँस दाउराका लागि भीरमा जाने बाध्य नहुने गरी काम गर्नका लागि व्यवसायिक कृषिमा जोड दिइरहेको बताउँदै आएको छ ।
सरकारले सामुदायिक वनमा घाँस काट्न रोक लगाएका कारण किसानहरु भीर पाखामा जानुपर्ने बाध्यता आएको सल्यानका नागरिक अगुवा मणीचन्द्र कार्की बताउँछन् । ‘सामुदायिक वन कहिलेकसो मात्रै खुल्छ,’ उनले भने, ‘हामी टाढा टाढा वनमा जानैपर्ने हुन्छ घाँस काट्नका लागि, सामुदायिक वन मासिने गरी नकाट्न भनी केही मापदण्ड बनाउनुप¥यो तर घाँस दाउर कुहिरै जाने गरी रोक त लगाउन भएन नि ।’
एकातर्फ कालिकोटको रास्कोटका बाबुराम श्रेष्ठ हिमाली जिल्लातिर घाँसको बीउ वितरण गरेर पनि केही नहुने बताउँछन् । किसानले खेतीयोग्य जमिनमा घाँसको बीउ नछर्ने भन्ने उनले यतातिर सामुदायिक वन पनि भिरमै हुने तर्क गर्छन् । ‘हामीले त जहाँ काटेपनि अधिकांश भीरमै घाँस काट्नुपर्छ,’ उनले भने ‘सरकारलाई अब भिर हटाइदे भन्न भएन तर किसानलाई भीरको जोखिम मोल्न नपर्ने गरी आयआर्जनका कार्यक्रम ल्याउन आवश्यक रहेको उनी बताउँछन् ।







