२०८३ साउन २ , शनिबार

चट्याङ्ग लागेर एकजनाको मृत्यु, ३ बालिकासहित ६ जना गम्भीर घाइते



कैलालीमा चट्याङ्ग लागेर एकजनाको मृत्यु भएको छ भने विद्यार्थीसहित छ जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा जोशीपुर नगरपालिका(३ का ३१ वर्षिय जयराम डगौरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै गम्भीर घाइते हुनेमा मोहन्याल आधारभूत विद्यालय बुदेनीमा अध्ययनरत ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा एसपी पदम बहादुर बिष्टले जानकारी दिए।

प्रहरी प्रमुख बिष्टका अनुसार विद्यालय जाने क्रममा आज बिहान करिब ६ः४५ बजे तिर विद्यालयको गेटमा पुग्दै गर्दा चट्याङ पर्दा उनीहरु घायते भएका हुन् घाइते भक्य एकजना बालिकाको आन्द्रा नै बाहिर आएको छ भने, दुई बालिकाको टाउकोमा गम्भीर चोट लागेको छ।

उनीहरूलार्इ उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको प्रहरी प्रमुख बिष्टले बताए।

यस्तै चट्याङ्ग लागेर धनगढी–१८ का २७ वर्षीय सालिकराम डगौरा पनि गम्भीर घाइते भएका छन् भने जानकी गाउँपालिका(४ की २९ वर्षीया रीता डगौरा र २३ वर्षीया सुस्मा डगौरा पनि गम्भीर घाइते भएका छन्। उनीहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ असार १३ गते बुधबार