२०८३ असोज २१ , बुधबार
सम्पादकीय

झुप्राको पानी जोगाउने जिम्मा कस्को ?



कर्णालीमा विकासको कुरा गर्दा सडक, पुल र भवनलाई प्राथमिकतामा राखिन्छ । तर विकासको आधार ऊर्जा हो भन्ने कुरा अझै पर्याप्त रुपमा स्थापित हुन सकेको छैन । ऊर्जा उत्पादनका लागि आवश्यक प्राकृतिक स्रोतको संरक्षण झन् पछाडि परेको देखिन्छ । सुर्खेतको झुप्रा जलविद्युत् आयोजनाको इतिहासले भने विकास र प्राकृतिक स्रोतबीचको सम्बन्धलाई स्पष्ट रुपमा देखाएको छ । पाँच दशकअघि झुप्रा खोलाको पानीबाट वीरेन्द्रनगरलाई उज्यालो बनाउने उद्देश्यले निर्माण गरिएको जलविद्युत् आयोजना त्यस समयका लागि महत्वपूर्ण उपलब्धि थियो । सीमित स्रोत र प्रविधिका बीच निर्माण भएको आयोजनाले लामो समयसम्म वीरेन्द्रनगरको विद्युत् आवश्यकता पूरा गर्न योगदान ग¥यो । तर समयसँगै यसको उत्पादन क्षमता घट्दै गयो । उपकरण पुराना हुनु एउटा कारण थियो, तर पानीको स्रोत कमजोर हुँदै जानु अझ गम्भीर समस्या बन्यो ।

झुप्रा खोलामा पानीको बहाव घट्नु संयोग मात्र थिएन । जलाधार क्षेत्रमा वन विनाश, खोलाको पानी अन्य प्रयोजनमा मोडिनु र स्रोत संरक्षणप्रति पर्याप्त ध्यान नदिनुको असर आयोजनाले भोग्नुप¥यो । एउटा आयोजनाको उत्पादन घट्नु मात्र यसको परिणाम होइन । यसले प्राकृतिक स्रोतको अव्यवस्थित उपयोगले विकासका पूर्वाधारलाई समेत दीर्घकालमा कमजोर बनाउँछ भन्ने सन्देश दिएको छ । आज झुप्राको पानी विद्युत् उत्पादनसँगै वीरेन्द्रनगरको खानेपानीको स्रोतका रूपमा पनि महत्वपूर्ण छ । त्यसैले झुप्रा क्षेत्रलाई केवल एउटा पुरानो जलविद्युत् आयोजनाको स्थानका रूपमा हेर्नु हुँदैन । यो जलस्रोत संरक्षण, वातावरणीय सन्तुलन र सहरी आवश्यकताबीच समन्वय गर्नुपर्ने संवेदनशील क्षेत्र हो ।

यही ठाउँमा अब सौर्य ऊर्जाको नयाँ परियोजना अघि बढ्नु सकारात्मक पक्ष हो । पानीमा निर्भर जलविद्युत्को अनुभवपछि सूर्यको प्रकाशबाट विद्युत् उत्पादनतर्फ अघि बढ्नु प्रविधिको परिवर्तन मात्र होइन, ऊर्जा स्रोतमा विविधता ल्याउने अवसर पनि हो । कर्णालीजस्तो भौगोलिक रूपमा विकट प्रदेशमा सौर्य, जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको सम्भावनालाई योजनाबद्ध रुपमा उपयोग गर्न सकिन्छ । तर नयाँ आयोजना थप्दैमा ऊर्जा समस्या समाधान हुँदैन । निर्माणपछि नियमित मर्मतसम्भार, उत्पादित विद्युत्को प्रभावकारी प्रसारण, लगानीको पारदर्शिता र स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्छ । त्यसभन्दा महत्वपूर्ण कुरा, एउटा आयोजनाका लागि स्रोत उपयोग गर्दा अर्को आवश्यकतामा त्यसको नकारात्मक असर नपर्ने गरी दीर्घकालीन योजना बनाउनुपर्छ ।

झुप्राको इतिहासले एउटा पाठ सिकाएको छ कि प्राकृतिक स्रोतलाई असीमित ठानेर विकास गर्न सकिँदैन । पानी घटेपछि आयोजना कमजोर हुन्छ, तर स्रोत जोगाउन सके ऊर्जा उत्पादनसँगै खानेपानी, वातावरण र स्थानीय जीवन पनि सुरक्षित हुन्छ । त्यसैले झुप्रामा सौर्य ऊर्जा थपिँदै गर्दा त्यहाँको पानी, वन र जलाधार संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ । विकासले आजको आवश्यकता पूरा मात्र होइन, भोलिका पुस्ताका लागि स्रोत पनि जोगाउन सक्नुपर्छ ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार