मसिसी अन्तर्गत मिलेनियम च्यालेज अकाउन्ट ९एमसिए० नेपाल अन्तर्गत निर्माण भइरहेको चार सय केभी क्षमताको नेपाल–भारत सीमापार प्रसारण लाइनमार्फत आगामी डिसेम्बरदेखि नेपाल र भारतबिच दुई सय केभी विद्युत् आदानप्रदान गर्ने तयारी गरिएको छ ।

पूर्ण क्षमताको चार सय केभी सबस्टेसन निर्माण सम्पन्न हुन अझै समय लाग्ने भएकाले हाल सञ्चालनमा रहेको दुई सय केभी प्रणालीमार्फत विद्युत् आदानप्रदान सुरु गर्न लागिएको हो । नेपालतर्फ नवलपरासी ९बर्दघाट–सुस्तापश्चिम० स्थित न्यु बुटवल सबस्टेसनदेखि भारतीय सीमासम्मको १८ किलोमिटर प्रसारण लाइनको टावर तथा तार जडान सम्पन्न भइसकेको छ । भारततर्फ सीमादेखि गोरखपुरसम्मको करिब ९६ किलोमिटर खण्डमा टावर तथा प्रसारण लाइन निर्माण तीव्र गतिमा भइरहेको छ । गोरखपुरमा भने चार सय केभी सबस्टेसनको आवश्यक पूर्वाधार तयार भइसकेको बताइएको छ ।
नेपाल विद्युत् प्राधिकरण, न्यु बुटवल सबस्टेसनका आयोजना प्रमुख विश्वरञ्जन मिश्रका अनुसार नेपालतर्फ निर्माण भइरहेको चार सय केभी सबस्टेसन सन् २०२७ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसअघि न्यु बुटवल सबस्टेसनमा तयारी अवस्थामा रहेको दुई सय केभी प्रणालीलाई भारततर्फको प्रसारण लाइनसँग जोडेर विद्युत् आदानप्रदान सुरु गरिने छ । “समग्र आयोजना चान सय केभी क्षमताको हो तर चार सय केभी सबस्टेसन निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि दुई सय केभी प्रणालीबाट विद्युत् प्रवाह गर्ने तयारी गरिएको हो,” मिश्रले भन्नुभयो, “दुवै देशबिच आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया पूरा भएपछि विद्युत् आदानप्रदान सुरु हुने छ ।”
उहाँका अनुसार सन् २०२६ डिसेम्बरसम्म नेपाल–भारत लाइन जोडेर विद्युत् आदानप्रदान सुरु गर्ने गरी दुवैतर्फ काम भइरहेको छ । सन् २०२७ को अन्त्यसम्म चार सय केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि भने प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालनमा आउने छ । त्यसपछि उच्च क्षमतामा नेपाल र भारतबिच विद्युत् आदानप्रदान गर्न सकिने छ । एमसिसी–नेपालका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोध अनुसार न्यु बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर खण्डमा टावर तथा प्रसारण लाइन निर्माण निर्धारित समयसीमाभित्रै सम्पन्न गरिएको हो ।







