२०८३ असोज २१ , बुधबार

सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट



काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ ९ओएफसीओएम० की वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटका क्रममा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो। दुवै पक्षबीच डिजिटल सुरक्षा, डिजिटल सार्वभौमिकता, डिजिटल अखण्डता तथा सूचना प्रविधिको विकासबाट नेपालले लिन सक्ने लाभका विषयमा समेत विचारविमर्श भएको बताइएको छ।

मन्त्री डा। तिमिल्सिनाले सूचना तथा सञ्चार प्रविधिको विकासमा स्विट्जरल्यान्ड सरकारले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि प्रविधि तथा डिजिटल क्षेत्रमा सहकार्य र सहयोगलाई थप प्रभावकारी बनाउन नेपाल इच्छुक रहेको बताउनुभयो।

मन्त्री तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै सूचना प्रविधिको क्षेत्रमा लगानी भित्र्याउन आवश्यक वातावरण निर्माण हुँदै गएको बताउनुभयो। डिजिटल प्रविधिको विस्तारसँगै सुरक्षा र सार्वभौमिकताको विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो।

भेटका क्रममा वरिष्ठ नीति सल्लाहकार लोइसले आगामी सन् २०२७ जुन २१ र २२ गते स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि औपचारिक निमन्त्रणा दिनुभएको थियो।उहाँले उक्त सम्मेलनमा नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाका प्राथमिकता र चासोका विषयमा समेत जानकारी लिनुभएको थियो। कृत्रिम बुद्धिमत्ता ९एआई० को विकास, प्रयोग र त्यसबाट उत्पन्न हुने अवसर तथा चुनौतीका विषयमा नेपालले राख्ने दृष्टिकोणबारे पनि छलफल भएको बताइएको छ।

त्यस्तै, भेटमा ‘फ्रिडम अनलाइन कोलिसन’ मा नेपालको सम्भावित सहभागिता र पर्यवेक्षकका रूपमा नेपालको भूमिकाबारे समेत छलफल भएको थियो ,हाल ४२ सदस्य राष्ट्र आबद्ध रहेको उक्त गठबन्धनले इन्टरनेट स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता तथा अनलाइन अधिकारको संरक्षण र प्रवर्धनका क्षेत्रमा सहकार्य गर्दै आएको छ। नेपाल र स्विट्जरल्यान्डबीच डिजिटल प्रविधि, सूचना सुरक्षा तथा सञ्चार क्षेत्रमा सहकार्य विस्तारका लागि भएको यो भेटलाई आगामी दिनमा द्विपक्षीय सहकार्य थप मजबुत बनाउने अवसरका रूपमा लिइएको छ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार