२०८३ असोज २३ , शुक्रबार
सम्पादकीय

शान्तीपुर्ण चाडपर्व सबैको साझा जिम्मेवारी



चाडपर्व नजिकिँदै गर्दा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन कर्णाली प्रदेश प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । भीडभाड बढ्ने, सवारीसाधनको चाप बढ्ने, बजारमा आर्थिक कारोबार बढ्ने र विभिन्न किसिमका आपराधिक गतिविधिको जोखिमसमेत बढ्न सक्ने भएकाले सुरक्षा निकायको सक्रियता आवश्यक छ । प्रहरीले गरेको तयारी स्वागतयोग्य छ । तर चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीको मात्रै प्रयास पर्याप्त हुँदैन ।सुरक्षा भनेको प्रहरी सडकमा खटिनु मात्रै होइन । नागरिकले आफ्नो जिम्मेवारी बुझ्नु पनि सुरक्षा व्यवस्थाकै महत्वपूर्ण पक्ष हो । चाडपर्वका बेला सार्वजनिक सवारीमा अत्यधिक यात्रु राख्ने, जथाभावी सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, जथाभावी पार्किङ गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउँछ । यस्तो अवस्थामा नियम पालना गराउने जिम्मेवारी प्रहरीको हो भने नियम पालना गर्ने दायित्व नागरिकको पनि हो ।

त्यस्तै बजार व्यवस्थापनमा पनि सबै पक्ष जिम्मेवार बन्नुपर्छ । चाडपर्वलाई अवसर बनाएर कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने, म्याद गुज्रिएका वस्तु बिक्री गर्ने वा उपभोक्तालाई ठगी गर्ने प्रवृत्तिविरुद्ध सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्छ । व्यवसायीले पनि नाफा कमाउने नाममा उपभोक्ताको अधिकारमाथि खेलबाड गर्नु हुँदैन । उपभोक्ताले समेत आफू ठगिएको वा अनियमितता भएको थाहा पाए सम्बन्धित निकायमा खबर गर्नुपर्छ । स्थानीय तह, जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, बजार व्यवस्थापन समिति, स्वास्थ्य संस्था, सञ्चारमाध्यम र नागरिक समाजबीचको समन्वयले चाडपर्वको सुरक्षा अझ प्रभावकारी बनाउन सक्छ । विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा एक्लै यात्रा गर्ने नागरिकको सुरक्षामा सबै पक्ष संवेदनशील हुन आवश्यक छ ।

चाडपर्व खुसी साट्ने समय हो, जोखिम निम्त्याउने समय होइन । त्यसैले सुरक्षाको सम्पूर्ण जिम्मेवारी प्रहरीको काँधमा थोपरेर हामी उम्किन सक्दैनौँ । प्रहरीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्छ, प्रशासनले समन्वय र अनुगमन बढाउनुपर्छ, व्यवसायीले जिम्मेवार व्यवहार गर्नुपर्छ र नागरिकले पनि नियम तथा अनुशासन पालना गर्नुपर्छ । सुरक्षित चाडपर्व सरकार वा सुरक्षा निकायले मात्रै बनाउने होइन, समाजका सबै पक्षको सामूहिक प्रयासले बनाउने हो । त्यसैले यसपटकको चाडपर्वमा सुरक्षा निकाय र नागरिकबीचको दूरी होइन, सहकार्य बढाऔँ । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्दै हातेमालो गरौँ र चाडपर्वलाई सुरक्षित, सभ्य र उल्लासमय बनाऔँ ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार