आरूघाट (गोरखा)। बूढीगण्डकी नदीमा आएको बाढीले आरूघाट बजार जोड्ने पुलको एउटा स्पान बगाएपछि धादिङ र गोरखाबीचको आवागमन प्रभावित भएको छ।
बाढीले आरूघाट बजार र आसपासका बस्तीमा समेत क्षति पु¥याएको छ। नदीमा आएको बाढीको खबर फैलिएपछि स्थानीयवासी घर छाडेर सुरक्षित स्थानतर्फ लागेका थिए। बाढीले पुलमा क्षति पु¥याउनुका साथै खानेपानीको पाइपसमेत बगाएको छ। नदी किनारमा लेदो माटो, काठका मुढा र अन्य वस्तु थुप्रिएका छन्। बाढीपछि बजार क्षेत्र हिलाम्मे बनेको छ भने स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ।
धादिङबेंसीबाट आरूघाट बजार जोड्ने सडकमा रहेको पुल तीनवटा स्पानको थियो। बूढीगण्डकीमा आएको बाढीले त्यसमध्ये एउटा स्पान बगाएपछि यस मार्गबाट नियमित रूपमा आवतजावत गर्न कठिन भएको छ। पुलमा क्षति पुगेपछि दुई जिल्लाका बस्तीबीचको सम्पर्क, व्यापार तथा अत्यावश्यक सामग्रीको ओसारपसारमा समेत समस्या देखिएको छ।
सुतिरहेको अवस्थामा आयो बाढीको खबर
आरूघाटको विद्युत् चोकमा बस्दै आएकी अञ्जु सुनारका लागि बाढी आएको बिहान निकै त्रासपूर्ण बन्यो। घरमा सुतिरहेका बेला छिमेकी महिलाहरूले माथिबाट बाढी आउन लागेको खबर गरेपछि उनी आफ्ना तीन जना साना बच्चा लिएर सुरक्षित स्थानतर्फ लागिन्। ‘हामी सुतिराखेको अवस्थामा वरिपरिका दिदीबहिनीहरूले माथिबाट बाढी आउँदै छ, उठ्नु, सुरक्षित स्थानमा जानू भन्नुभयो,’ सुनारले भनिन्, ‘त्यसपछि साना बच्चाहरू लिएर हतारहतार माथि टावरतिर गएर बस्यौँ।’
उनका अनुसार नदीको पानी घट्ने र बढ्ने क्रम चलिरहेको थियो। तर, केही समयपछि लेदोसहितको बाढी आएपछि बजार र आसपासका क्षेत्र डुबानमा परे। उनीहरू सुरक्षित स्थानबाटै बाढीले पु¥याएको क्षति हेरिरहेका थिए। ‘हाम्रो आँखाअगाडि नै पारिको बजार र छेउका सबै क्षेत्र डुबायो। हामी माथि नै बसिरह्यौँ,’ उनले भनिन्।
बाढीको जोखिम कायम रहेकाले स्थानीयहरू लामो समयसम्म सुरक्षित स्थानमै बसेका थिए। सुरक्षाकर्मीले पनि जोखिमयुक्त क्षेत्रमा मानिसहरूलाई जान नदिएको सुनारले बताइन्। उनका अनुसार मानवीय क्षति नभएको खबरले केही राहत दिए पनि भौतिक क्षति भने ठूलो भएको छ।
आरूघाट क्षेत्रका ७० वर्षीय लोकप्रसाद ढकालका अनुसार बाढी आउनुअघि नदी थुनिएको र पछि थुनिएको पानी एकैपटक बग्दा क्षति पुगेको भन्ने खबर स्थानीयस्तरमा फैलिएको थियो। उनको घर बूढीगण्डकी नदी किनारबाट करिब एक किलोमिटर माथि पर्छ। ढकालका अनुसार बाढीले बजारका केही घरमा क्षति पु¥याएको छ भने पुलको एउटा स्पानसमेत बगाएको छ। तर, नदी कहाँ र कसरी थुनियो, पहिरो गएको थियो वा थिएन र पानी कति समयसम्म जम्मा भएको थियो भन्ने विषयमा प्राविधिक पुष्टि हुन बाँकी छ।
पुलमा क्षति पुगेपछि स्थानीयले आवतजावतका लागि वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था आएको छ। ढकालका अनुसार तल्लो पुलबाट आवतजावत गर्न सम्भव हुन सक्छ। यद्यपि, सुरक्षित आवागमनका लागि सम्बन्धित निकायले अवस्थाको मूल्याङ्कन गर्न आवश्यक छ।
बाढीको खबरपछि स्थानीयमा भागाभाग
आरूघाट बजारमा व्यवसाय गर्दै आएका सन्तोष राजभण्डारीका अनुसार बाढीको खबर फैलिएपछि स्थानीयहरू हतारहतार घर छाडेर सुरक्षित स्थानतर्फ लागेका थिए। ‘खबर आएपछि भागाभाग भयो। हामी टारीफाँट, भीमसेन थापा गाउँपालिका क्षेत्रतिर गयौँ। फोनमार्फत खबर पाएपछि भाग्न सकियो,’ राजभण्डारीले भने।
उनका अनुसार बिहान करिब पाँचदेखि छ बजेको समयमा माथिल्लो क्षेत्रमा पहिरो गएको र बूढीगण्डकी नदी थुनिएको खबर आएको थियो। सूचना पाएपछि नदी आसपासका बस्तीका मानिसहरू सुरक्षित स्थानतर्फ लागेका थिए। धादिङतर्फका बस्तीमा बढी क्षति पुगेको खबर आएको राजभण्डारीले बताए। गोरखातर्फको शान्ति बजार र माथिल्लो क्षेत्रका बस्तीमा समेत क्षति भएको जानकारी प्राप्त भएको उनले उल्लेख गरे।
बाढीपछि केही मानिस बेपत्ता भएको खबर पनि स्थानीयस्तरमा फैलिएको छ। चारदेखि पाँच जना बेपत्ता भएको जानकारी आफूले पाएको राजभण्डारीले बताए। यद्यपि, बेपत्ता व्यक्तिको सङ्ख्या र अवस्थाबारे आधिकारिक पुष्टि हुन बाँकी छ।
दुई जिल्लाका बस्ती जोड्ने महत्त्वपूर्ण व्यापारिक केन्द्र
आरूघाट बजार गोरखा र धादिङका विभिन्न बस्तीलाई जोड्ने महत्त्वपूर्ण व्यापारिक तथा आवागमन केन्द्र हो। यहाँ आसपासका गाउँका बासिन्दा किनमेल, स्वास्थ्य सेवा तथा अन्य दैनिक कामका लागि आउने गर्छन्। आरूघाट गाउँपालिका–८ का उदयप्रसाद खनालका अनुसार धादिङतर्फका सल्यानटार, बूढाथुम, मान्बु र बसेरीलगायतका क्षेत्र तथा गोरखाका विभिन्न गाउँका मानिसका लागि आरूघाट प्रमुख बजारमध्ये एक हो। ‘करिब आठ–दस गाउँको संगमस्थल हो आरूघाट,’ खनालले भने।
धादिङ हुँदै आरूघाट आउने र यहाँबाट माथिल्लो मनास्लु क्षेत्रतर्फ जाने मार्ग भएकाले यो बजार पदयात्रा तथा अन्य यात्राका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। पुल बगाउँदा भौतिक संरचनामा मात्र क्षति पुगेको छैन, दुई जिल्लाका बस्तीबीचको नियमित सम्पर्क र व्यापारिक गतिविधिमा समेत अवरोध आएको छ। बाढीबाट कति घरपरिवार प्रभावित भए, कति घरमा क्षति पुग्यो र समग्र भौतिक क्षति कति भयो भन्ने विस्तृत विवरण सङ्कलन हुन बाँकी छ।
पुलमा बेलिब्रिज जडान गर्ने तयारी
बाढीले पुलको स्पान बगाएपछि आवागमन पुनःस्थापना गर्न नेपाली सेनाले पहल थालेको छ। पुलको अवस्था निरीक्षण गरी बेलिब्रिज जडान गर्न सकिने सम्भावनाबारे प्रारम्भिक सर्वेक्षणसमेत गरिएको स्थानीयस्तरबाट जानकारी प्राप्त भएको छ।
नेपाली सेनाले सोमबारदेखि पुलमा बेलिब्रिज जडान गर्ने तयारी गरेको छ। त्यसका लागि सडक डिभिजन कार्यालय हेटौँडाबाट बेलिब्रिज ल्याउने प्रक्रिया अघि बढाइएको छ। बेलिब्रिज जडान भएपछि आवागमन सहज हुने अपेक्षा गरिएको छ। तर पुल कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने विषयमा स्पष्ट समयसीमा सार्वजनिक भएको छैन।
बाढीले खानेपानीको पाइपसमेत बगाएकाले प्रभावित क्षेत्रमा खानेपानी आपूर्तिको समस्या समाधान गर्नुपर्ने चुनौती पनि छ। पुल मर्मत, खानेपानी सेवा पुनःस्थापना र क्षतिग्रस्त बस्तीको अवस्थाबारे यकिन विवरण सङ्कलन गर्न सम्बन्धित निकायको ध्यान केन्द्रित भएको छ।
स्थानीय अझै त्रास र अन्योलमा
बाढीको पानी घटे पनि आरूघाट क्षेत्रमा त्यसले छाडेको लेदो, थुप्रिएको माटो र क्षतिग्रस्त संरचनाले जोखिमको अवस्था देखाइरहेको छ। नदीमा पुनः पानीको सतह बढ्न सक्ने आशङ्काले स्थानीयमा त्रास कायम छ। सुरक्षाकर्मीले जोखिमयुक्त क्षेत्रमा निगरानी गरिरहेका छन्। नेपाली सेनाका टोली नदीको वारि र पारि दुवैतर्फ परिचालित भएका छन्। स्थानीयवासी भने सुरक्षित आवागमन, खानेपानी आपूर्ति र क्षतिको यकिन विवरण सार्वजनिक हुने प्रतीक्षामा छन्।
बाढीबाट भएको क्षतिको पूर्ण विवरण आउन तथा प्रभावित परिवारको अवस्था स्पष्ट हुन बाँकी छ। तत्कालका लागि जोखिमयुक्त क्षेत्रबाट टाढा रहनु, आधिकारिक सूचनाको पालना गर्नु र सुरक्षित स्थानमा बस्नु आवश्यक देखिएको छ।








