२०८३ असोज २६ , सोमबार

भारत भ्रमणमा निस्किए गृहमन्त्री सुधन गुरुङ



काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किएका छन्।

उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्। बिमस्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहकार्य र साझा चासोका विषयमा छलफल हुने बैठकमा सहभागी हुन उनी भारत जान लागेका हुन्। बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल ९बिमस्टेक० अन्तर्गत आयोजना हुने उक्त बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन्। बैठकमा बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरूको पनि सहभागिता रहनेछ।

बिमस्टेक बंगालको खाडी क्षेत्रका देशहरूबीच आर्थिक तथा प्राविधिक सहयोग प्रवर्द्धन गर्ने क्षेत्रीय संगठन हो। यस संगठनले सदस्य राष्ट्रहरूबीच आपसी समझदारी, सहकार्य र क्षेत्रीय साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ।

गृहमन्त्री गुरुङको भारत भ्रमणलाई नेपाल र अन्य बिमस्टेक सदस्य राष्ट्रहरूबीच सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ। बैठकले सदस्य राष्ट्रहरूबीच साझा चासोका विषयमा विचार आदानप्रदान तथा आपसी सहयोगका सम्भावनाबारे छलफल गर्ने अपेक्षा गरिएको छ। नेपालसहित सातै देशका गृहमन्त्री सहभागी हुने यस बैठकले क्षेत्रीय स्तरमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार