काठमाडौं। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसँग कालापानी,लिपुलेक र लिम्पियाधुराको विषयमा प्रश्न गरेकी छन् ।
संसदीय सुनुवाइ समितिमा भइरहेको सुनुवाइका क्रममा अर्यालले उक्त क्षेत्र नेपालको भूमि भएको उल्लेख गर्दै यस विषयमा भारतसँग कूटनीतिक रूपमा अघि बढ्न प्रस्तावित राजदूतले कस्तो पहल गर्नुहुन्छ भन्ने जिज्ञासा राखिन् । ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय छ । त्यो हाम्रो भूमि हो, तथ्य यही हो । यसमा के गर्नुहुन्छ ?’ अर्यालले प्रश्न गरिन् ।
उनले नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै भारतसँगको सम्बन्धमा ठोस उपलब्धि हासिल गर्ने योजना पनि प्रस्तुत गर्न प्रस्तावित राजदूतलाई आग्रह गरिन् ।अर्यालले विगतका राजदूतभन्दा फरक ढंगले काम गर्दै आफ्नो कार्यकालमा देखिने परिणाम ल्याउनुपर्नेमा जोड दिइन् । साथै, नेपाल र भारतबीचको व्यापार घाटा घटाउने, नेपाली उत्पादनका लागि भारतीय बजारमा रहेका सम्भावना पहिचान गर्ने तथा बजार प्रवेशमा देखिएका अवरोध हटाउन पहल गर्न उनले सुझाव दिइन् । नेपालको राष्ट्रिय हित, सीमा समस्या समाधान र आर्थिक सम्बन्धलाई प्रभावकारी बनाउने विषय प्रस्तावित राजदूतको सुनुवाइका क्रममा उठेका प्रमुख सवाल बनेका छन् ।








