नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनबाट गगन थापा सभापति बन्नु केवल नेतृत्व परिवर्तन होइन, पार्टीमा पुस्तान्तरण, आन्तरिक लोकतन्त्र र सङ्गठनात्मक सुधारको अवसर हो।
तर नयाँ नेतृत्वको सफलता भाषण र लोकप्रियताले होइन, व्यवहार र परिणामले मापन हुनेछ। गगन थापाले विगतदेखि उठाउँदै आएको विद्रोहलाई अब व्यक्तिवाद, अपारदर्शिता, गुटबन्दी र पुरानो कार्यशैली अन्त्य गर्ने संस्थागत सुधारमा बदल्नुपर्छ। क्रियाशील सदस्यताको डिजिटल अभिलेख, निष्पक्ष आन्तरिक निर्वाचन, असहमतिमाथि प्रतिशोधको अन्त्य र नेतृत्वको जवाफदेहिता पहिलो प्राथमिकता बन्नुपर्छ।
कांग्रेसलाई वास्तविक जनाधारित पार्टी बनाउन सदस्यको अधिकार बलियो बनाउनुपर्छ। प्रतिनिधि सदस्यको आवाज बन्नुपर्छ, शक्ति केन्द्र होइन। निर्वाचन खर्चको सीमा, आर्थिक स्रोतको पारदर्शिता, उम्मेदवार छनोटका स्पष्ट मापदण्ड र स्वतन्त्र अनुगमनले गुटबन्दी घटाउन मद्दत गर्छन्। महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम र युवाको सहभागिता पदमा सीमित नभई नीति निर्माण र निर्णय प्रक्रियामा पनि सुनिश्चित हुनुपर्छ।
त्यसैगरी, केन्द्रदेखि स्थानीय तहसम्म अधिकार विकेन्द्रीकरण गर्दै मध्यवर्ती संरचनाहरूको औचित्य र प्रभावकारिताको समीक्षा आवश्यक छ। सङ्गठनका संरचना जोगाउनु मात्र सुधार होइनस कार्यकर्ताको अधिकार, नेतृत्वको उत्तरदायित्व र लोकतान्त्रिक अभ्यास जोगाउनु वास्तविक सुधार हो।
पार्टीभित्र सुशासन स्थापित गर्न वार्षिक आम्दानी–खर्चको लेखापरीक्षण, निर्णयको सार्वजनिक जानकारी, नियमित कार्यसम्पादन मूल्याङ्कन र स्पष्ट समयसीमासहितको सुधार योजना लागू गर्नुपर्छ। सुधारको नाममा निर्णय शक्ति फेरि केन्द्रित हुने वा नयाँ नेतृत्व पुरानै संस्कारमा समाहित हुने जोखिमबाट पनि बच्नुपर्छ।
अन्ततः गगन थापाको नेतृत्व तीन आधारमा परीक्षण हुनेछ— सदस्यको अधिकार कति विस्तार भयो, पार्टी कति पारदर्शी र समावेशी बन्यो, अनि गुटबन्दी र अपारदर्शिता कति घटे। उनले आफ्नो विद्रोही छविलाई संस्थागत सुधारमा बदल्न सके कांग्रेसको पुनर्जागरण सम्भव छ। अन्यथा नेतृत्वको अनुहार फेरिए पनि पुरानो प्रवृत्ति यथावत् रहनेछ। अब प्रश्न को लोकप्रिय छ भन्ने होइन, कसले नेपाली कांग्रेसलाई लोकतान्त्रिक, पारदर्शी, जनाधारित र उत्तरदायी बनाउन सक्छ भन्ने हो।








