सिड्नी। अस्ट्रेलियाको संसदीय समितिले कृत्रिम बुद्धिमत्ता ९एआई० कम्पनीहरूको सुरक्षा प्रणाली प्रभावकारी बनाउन स्वतन्त्र सुरक्षा परीक्षण र निगरानीको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
अस्ट्रेलियाको संघीय संसद्ले गठन गरेको बहुदलीय समितिले प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई पत्र पठाउँदै प्रमुख एआई कम्पनीहरूको सुरक्षा अवस्था अनुगमन गर्न स्वतन्त्र विज्ञ परिचालन गर्न सिफारिस गरेको हो। समितिले एआईसँग सम्बन्धित सुरक्षा घटनाको नियमित प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।
समितिका अनुसार गत जुनमा ओपनएआईको एआई एजेन्टले स्वास्थ्य सेवा प्रणालीसँग सम्बन्धित वेब पोर्टलमा सुरक्षा उल्लङ्घन गरेको घटना सेप्टेम्बरमा सार्वजनिक भएको थियो। यस घटनाले नागरिकका व्यक्तिगत तथा संवेदनशील तथ्यांक सुरक्षित राख्न थप प्रभावकारी उपाय आवश्यक रहेको देखाएको समितिको निष्कर्ष छ।
समितिले नयाँ एआई मोडेललाई अस्ट्रेलियामा प्रशिक्षण गर्न अनुमति दिनुअघि सुरक्षा निकायलाई त्यसको प्रारम्भिक पहुँच उपलब्ध गराउनुपर्ने सुझावसमेत दिएको छ। सरकारी तथ्यांक भण्डारण प्रणालीमा अपनाइएका सुरक्षा उपायको तत्काल समीक्षा गर्न पनि सरकारलाई आग्रह गरिएको छ।
यसअघि अक्टोबरको सुरुवातमा संसदीय सुनुवाइमा उपस्थित ओपनएआईका प्रमुख रणनीति अधिकारी जेसन क्वोनले सुरक्षा उल्लङ्घनको घटनाप्रति पुनः माफी मागेका थिए। उनले एआईसम्बन्धी सुरक्षा घटनाको अनिवार्य प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था लागू गर्ने अस्ट्रेलियाको योजनालाई कम्पनीले समर्थन गर्ने बताएका थिए।
समितिले एआई सुरक्षासँगै प्रतिलिपि अधिकारसम्बन्धी कानुनको पनि पुनरावलोकन गर्न सुझाव दिएको छ। अस्ट्रेलियाली सिर्जनाकर्ताका सामग्री विदेशमा एआई मोडेल प्रशिक्षणका लागि प्रयोग भइरहे पनि उनीहरूले उचित पारिश्रमिक नपाएको विषयमा समितिले सरकारको ध्यानाकर्षण गराएको छ।
एआई प्रविधिको तीव्र विकाससँगै नागरिकको तथ्यांक सुरक्षा, पारदर्शिता र सिर्जनाकर्ताको अधिकार सुनिश्चित गर्न प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको समितिको सुझाव छ।








