२०८३ असोज २७ , मंगलबार

कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित



काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्री पदमा निर्वाचित भएका छन्।

उनी पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्रीमा चयन भएका हुन्। कांग्रेसको मिडिया सेन्टरले सार्वजनिक गरेको नतिजाअनुसार शाहीले ३ हजार ९०६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६ मत पाएका छन्।

त्यस्तै, सहमहामन्त्री पदका अन्य उम्मेदवार राजन कुँवरले ३२४ मत र रामबहादुर विष्टले २६० मत प्राप्त गरेका छन्। कांग्रेसको वेबसाइटमा उल्लेख भएअनुसार उक्त पदका लागि कुल ६ हजार ७२९ मत खसेको थियो भने ३३ मत बदर भएका थिए।मिडिया सेन्टरले शाहीको जित पुष्टि गरे पनि केन्द्रीय निर्वाचन समितिले औपचारिक रूपमा अन्तिम नतिजा घोषणा गर्न बाँकी रहेको जनाइएको छ।

शाही यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा पनि पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीका उम्मेदवार बनेका थिए। त्यतिबेला उनी शेरबहादुर देउवा समूहबाट प्रतिस्पर्धामा उत्रिए पनि शेखर कोइराला समूहका उम्मेदवार बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए। गत पुसमा आयोजित विशेष महाधिवेशनमा सहभागी नभएका शाही पछिल्लो समय देउवा समूह छाडेर पार्टीको मूलधारमा फर्किएका थिए। यसपटकको महाधिवेशनमा सहमहामन्त्री पदमा प्राप्त सफलतालाई उनको राजनीतिक यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार