२०८३ असोज २७ , मंगलबार

सरकारी सवारीसाधन दुरुपयोगको आरोपमा सापकोटा पक्राउ



बनेपा । सरकारी सवारीसाधन दुरुपयोग गरी सर्वसाधारणमाथि अभद्र व्यवहार गरेको आरोपमा काभ्रेपलाञ्चोकका एक व्यक्ति पक्राउ परेका छन्।

पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटालाई प्रहरीले पक्राउ गरेको हो। सार्वजनिक बिदा शनिबार, असोज २४ गते सरकारी सवारीसाधन प्रयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोप उनीमाथि छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सापकोटालाई असोज २५ गते नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा उपस्थित गराइएको थियो।

प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप अनुमति लिएपछि सापकोटालाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार