काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुँदै आएको सबै ब्रान्डका ग्यास सिलिन्डर साटफेर तथा संयुक्त बिक्री वितरणको व्यवस्था बुधबारदेखि अन्त्य हुने भएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले बिहीबारदेखि पुरानै प्रणालीअनुसार डिलरमार्फत ग्यास बिक्री वितरण गरिने जनाएको छ। दसैंलाई लक्षित गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले उद्योगीहरूले आइतबारदेखि संयुक्त बिक्री वितरण सुरु गरेका थिए। यस व्यवस्थाअन्तर्गत उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सक्ने व्यवस्था गरिएको थियो।
सुरुमा उपत्यकाका ६ वटा केन्द्रबाट ग्यास बिक्री सुरु गरिएको थियो। सोमबार थप पाँच केन्द्र विस्तार गरी बिक्री केन्द्रको संख्या ११ पुर्याइएको थियो। तर, ती केन्द्रमा उपभोक्ताको लामो लाइन लागेपछि ग्यास लिन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।
उद्योगीहरूले सुरुमा असोज ३१ गतेसम्म संयुक्त बिक्री गर्ने बताएका थिए। त्यसपछि असोज ३० गतेसम्म मात्रै सेवा सञ्चालन गर्ने सूचना जारी गरेका उनीहरूले मंगलबार पुनः समयसीमा घटाएर बुधबारसम्म मात्रै ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्ने जनाएका हुन्।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार बिहीबार र शुक्रबारदेखि नियमित रूपमा डिलरमार्फत ग्यास आपूर्ति गर्नुपर्ने भएकाले संयुक्त बिक्रीको व्यवस्था बुधबारसम्म मात्रै कायम रहनेछ।
बजारमा ग्यास अभाव नरहेको संघको दाबी
संघले बजारमा ग्यासको अभाव नरहेको दाबी गर्दै उपभोक्तालाई आफ्नो नजिकको डिलरबाट ग्यास खरिद गर्न आग्रह गरेको छ। नेपाल आयल निगममार्फत भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात सहज भइरहेको संघको भनाइ छ।
संयुक्त बिक्रीका लागि विभिन्न स्थानमा केन्द्र तोकिए पनि उपभोक्ताले घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। नियमित डिलरबाट ग्यास उपलब्ध नगराई सीमित स्थानबाट बिक्री गर्दा उपभोक्तालाई थप असुविधा भएको हो।
उपभोक्ताको असुविधालाई ध्यानमा राख्दै बिहीबारदेखि पुरानै वितरण प्रणालीमा फर्कने निर्णय गरिएको संघले जनाएको छ। संघले उपभोक्तालाई अनावश्यक रूपमा लामो लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न नजिकैको डिलरबाट ग्यास खरिद गर्न अनुरोध गरेको छ।








