धनगढी । सुदूरपश्चिम प्रदेशसभामा बजेटलाई लिएर विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।
सरकारले मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाएर बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन खोजेपछि कांग्रेसले सदन बहिष्कारको निर्णय सार्वजनिक गरेको हो। नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षी दलसँग आवश्यक समन्वय नगरेको भन्दै विरोधस्वरूप सदन बहिष्कार गर्ने निर्णय गरिएको बताए। उनले मंगलबारदेखि नै प्रदेशसभाका सबै बैठकमा सहभागी नहुने जानकारी दिए।
यसैबीच, बजेट विवाद समाधानका लागि सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ। नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको हो।
मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने तथा बजेटमा देखिएका विवादित विषय संसदीय छानबिनमार्फत टुंग्याउने निर्णय गरेको नेकपाका एक सांसदले जानकारी दिए।
आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद उत्पन्न भएपछि प्रदेशसभा बैठकसमेत प्रभावित भएको थियो।
सत्तापक्षले बजेट पारित गरेर विवादित विषयलाई छानबिनमार्फत समाधान गर्ने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसले भने सदन बहिष्कार गर्ने निर्णय गरेको छ। कांग्रेसको यो कदमसँगै सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने प्रक्रिया थप राजनीतिक विवादबीच अघि बढ्ने देखिएको छ।







