२०८३ असोज २७ , मंगलबार

संखुवासभाको दुर्गम हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली



काठमाडौं । संखुवासभाको उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएको छ।

नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन विस्तार गरी उक्त क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा ल्याएको हो। यसअघि हटिया क्षेत्रमा लघु जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो। राष्ट्रिय प्रसारण लाइन जोडिएपछि स्थानीय बासिन्दाले थप भरपर्दो र नियमित विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागले सञ्चालन गरेको आयोजनामार्फत उक्त क्षेत्रमा प्रसारण लाइन विस्तार गरिएको हो। खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार भोटखोला गाउँपालिका कार्यालय र हाहियास्थित अस्पतालमा थ्री फेज मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ।

राष्ट्रिय प्रसारण लाइन विस्तारबाट स्थानीय बासिन्दासँगै सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानीपिसानी मिल तथा घरेलु उद्योग लाभान्वित हुने प्राधिकरणको विश्वास छ। यसले स्थानीय क्षेत्रमा विद्युत्को उपलब्धता र आपूर्तिको विश्वसनीयता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

किमाथाङ्कासम्म विद्युत् पुर्‍याउने लक्ष्य

चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने काम अघि बढाइएको छ। प्राधिकरणले चालु आर्थिक वर्षभित्रै किमाथाङ्कामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् पुर्‍याउने लक्ष्यसहित ठेक्का प्रक्रिया अगाडि बढाएको जनाएको छ।

संखुवासभामा विद्युत् पहुँच विस्तारलाई प्राथमिकता दिँदै प्राधिकरणले दुर्गम बस्तीमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गरिरहेको छ। जिल्लाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन्। बाँकी घरधुरीमा भने लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति हुँदै आएको छ। दुर्गम बस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तार हुँदा स्वास्थ्य तथा शिक्षा सेवाको सञ्चालन सहज हुनुका साथै स्थानीय उद्योग, व्यवसाय र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार