२०८३ असोज २७ , मंगलबार

साइकलयात्रीको मृत्युपछि सप्तरीमा आक्रोश, न्याय माग्दै आफन्तले रोके हुलाकी सडक



सप्तरी । सवारीसाधनको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको घटनामा संलग्न सवारीसाधनको खोजीमा प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले सप्तरीमा हुलाकी सडक अवरुद्ध गरेका छन्।

बोदेबरसाईन नगरपालिका–३ स्थित कुसमहार चोकमा आफन्त तथा स्थानीयवासीले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले दुर्घटनामा संलग्न सवारीसाधनको पहिचान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। गत असोज २५ गते बोदेबरसाईन नगरपालिका–६ प्रितमपुरस्थित हुलाकी सडकखण्डमा नम्बर नखुलेको सवारीसाधनले साइकलमा सवार ५५ वर्षीय राजेन्द्र यादवलाई ठक्कर दिएको थियो। बोदेबरसाईन नगरपालिका–१ महनौरी निवासी यादव चन्हीबाट कुसमहारतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए।

दुर्घटनामा टाउकोको पछाडिको भागसहित शरीरका विभिन्न स्थानमा चोट लागेका यादव सडक किनारमा घाइते अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

घटनामा संलग्न सवारीसाधनको पहिचान हुन नसकेको भन्दै मृतकका आफन्तले प्रहरीको अनुसन्धानप्रति असन्तुष्टि जनाएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार