मुगु। मुगुको छायानाथ रारा नगरपालिका–५ मा खुँडा प्रहारबाट ७५ वर्षीय धनवीर कामीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले धनवीरमाथि धारिलो हतियार प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका धनवीरको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
घटनापछि फरार रहेका आरोपित अजविरलाई प्रहरीले रारा राष्ट्रिय निकुञ्जको जङ्गलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिएका छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।
प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार






