२०८३ साउन २ , शनिबार

विराटनगर महानगरपालिकाको अधिकांश क्षेत्र डुबानमा (फोटो फिचर)



मंगलबार मध्यरातदेखि परेको वर्षाले विराटनगर महानगरपालिकाको अधिकांश वडा डुबानमा परेका छन्।

रातीदेखिको अविरल वर्षाले महानगरपालिकाको १, २, ३, ४, ५, ६, ८, ११, १२, १४ र १९ नम्बर वडा अन्य वडाभन्दा बढी प्रभावितभएको महानगरपालिकाले जनाएको छ।अविरल वर्षाले मुख्य राजमार्ग, भित्री सडकहरू जलमग्न हुनुका साथै घर डुबानमा परेका छन्।

वर्षाले जलमग्न भएपछि महानगरपालिकाका अधिकांश निजी र सामुदायिक विद्यालय बन्द गरिएको छ। ४ नम्बर वडाको बस्ता खोलाको बाढी विराटनगर विमानस्थलको रन वे मा बाढी पसेपछि कुनै पनि जहाज अवतरण भएका छैनन्। रन वेको पानी हटाउने कार्य भइरहेको र पानी हटेर सहज स्थिति भए जहाज उडान हुने विमानस्थलका प्रवक्ता युवराज भण्डारीले जानकारी दिए।

महानगरपालिकाकी सूचना अधिकारी अनिता न्यौपानेका अनुसार नगर क्षेत्रभित्र कति घर परिवार डुबानका कारण विस्थापित भएको र डुबानले कति क्षति भयो भन्ने विवरण प्राप्त नभएको बताइन्।उनले विस्थापितहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने काम भइरहेको र विवरण संकलन गर्ने काम पनि भइरहेको बताइएकी हुन्।

महानगरपालिकाको बखरी, दरैया, गौशाला, सरदार टोलका बासिन्दा विस्थापित भएका छन्। उनीहरुलाई नजिकैको विद्यालयमा राखिएको छ । नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीले उद्धार गरेका छन्।

प्रकाशित मिति : २०८१ असार १३ गते बुधबार